पोखरामा अफ्सिजनमै पर्यटकको उपस्थिति बर्षकै उच्च, १ अर्बको कारोवार, होटल ९० प्रतिशत भरिए, सडकपेटी व्यवसायीदेखि होमस्टे संचालकसम्म उत्साहित (भिडियो सहित)

-


     पोखरा क्लिक     
     पौष १७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १७ पुस

अंग्रेजी नयाँ वर्ष र २७ औँ पोखरा सडक महोत्सवको अवसरमा पोखरा यस वर्ष अफसिजनमै पर्यटकले भरिएको शहर बन्न पुग्यो । पर्यटनको सिजन अक्टुवर नोवेम्बर भन्दा ५ दिने पोखरा सडक महोत्सवमा पोखरामा धेरै पर्यटकहरु भित्रिएका छन भने उनीहरुले यस क्षेत्रमा करोडौं खर्च गरेका छन् । नियमित रुपमा पुस–माघमा पर्यटक कम हुने मौसममा पनि हो तर यसपाली पोखराका पर्यटकीय स्तरका होटल अकुपेन्सी ९० प्रतिशत पुगेको व्यवसायीहरू बताउँछन् । होटलहरू मात्र होइन, कास्कीका गाउँ–घरका होमस्टेदेखि लेखनाथ, भुजुङ, सिरुबारी र बेगनास किनारसम्म पर्यटकको भीड पुग्दा पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार ५ दिनको महोत्सव अवधिभर करिब ५ लाख दर्शक तथा पर्यटक पोखरा भित्रिएको अनुमान छ । टिकट प्रणाली नहुँदा ठ्याक्कै तथ्यांक निकाल्न कठिन भए पनि नयाँ वर्षको रात मात्र लेकसाइड क्षेत्रमा झण्डै दुई लाख मानिस पुगेको दाबी उनको छ । “सडक खुल्ला भएका कारण आवतजावत स्वतन्त्र थियो, भीडको प्रभाव अर्थतन्त्रमा प्रत्यक्ष देखियो,” पौडेलले भने ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार महोत्सव सुरु भएपछि अकुपेन्सी ७०–८० प्रतिशत रहेकामा पुस १६ गते ९० प्रतिशत पुगेको थियो । “अन्तर्राष्ट्रियभन्दा आन्तरिक र भारतीय पर्यटक बढी देखिए,” सुवेदी भन्छन्, “५० प्रतिशत आन्तरिक, ३५ प्रतिशत भारतीय र १५ प्रतिशत तेस्रो मुलुकका पर्यटक पोखरा पुगे ।” सुवेदीले एकैदिन करिब १० करोड रुपैयाँ बराबरको होटल, खाना–खाजाको कारोबार भएको अनुमान गरे । पोखरा क्षेत्रमा ४० हजार शैय्या क्षमता रहँदासम्म ३२ हजार बेडभरि पर्यटक पुगेको उनको दाबी छ । “होटल रुम नपाएर धेरै पर्यटक फेवाताल छेउका होमस्टे, नयाँ बजार, भुजुङ, कास्कीकोट, सराङकोट, पुम्दी भुम्दी, लेखनाथसम्म पुगे,” उनले भने, “व्यवसायी कम्तिमा दुई साताका लागि ढुक्क भएका छन् ।”

सडकपेटी व्यापारले पनि ‘महिना भरिको आम्दानी पाँच दिनमै’ महोत्सवले बृहत्तर पोखराको व्यवसायिक नाडीसम्म पैसा बगाएको अनुभव सडकपेटी व्यापारीहरू पोखराक्लिकलाई सुनाउँछन् । पान पसले सिक्लेस पटेल भन्छन् —“अन्य समयमा २०÷५५ हजार महिनामा कमाउँछु, महोत्सवका पाँच दिनमै करिब ६० हजार कमाएँ।” चन्दन गुप्ताले चलाएको पानीपुरी स्टलमा पनि भीड बाक्लै रह्यो । “दैनिक १०–१५ हजारसम्म व्यापार भयो, मानौं एक–महिनाको आम्दानी पाँच दिनमै,” उनले भने ।

सडक व्यापारीहरूको प्रस्तुत अवस्थाले महोत्सवका पाँच दिनमा साना–ठूला व्यवसायी मिलाएर करिब एक महिनाको बराबरी एक अर्बभन्दा बढी कारोबार भएको अनुमान उद्योगी व्यापारीहरूले गर्छन् । महोत्सवका संयोजक बशन्त गौतमले यो वर्षको भीड र सहभागिताले पोखरालाई पुनः पर्यटकको पहिलो रोजाइ बनाएको बताए । “गत वर्षभन्दा भारतीय कोटामा वृद्धि भयो, अब चिनियाँ पर्यटक फर्काउने रणनीति चाहिन्छ,” उनले भने, “अब महोत्सवलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ आवश्यक छ, जसका लागि हामी तयारीमा छौँ ।” यो महोत्सवलाई राष्ट्रिय हुदै अब अन्तराष्ट्रिय स्तकै रुपमा स्थापित गर्न तर्फ आफुहरु केन्द्रित हुने उनले जनाए ।

लेकसाइडको फेवातालमा राति अबेरसम्म सांगीतिक प्रस्तुति, आतिसबाजी, सांस्कृतिक झाँकी र स्थानीय परिकारका कारण झनझन चम्कियो । रेवान पोखराका महासचिव विरेन्द्र शेरचन पोखराक्लिक समक्ष भन्छन् —“सीसी क्यामेरा, प्रहरी, सशस्त्र, ट्राफिक र स्वयम्सेवक — सबै परिचालन गरियो, सुरक्षा प्राथमिकतामा थियो ।” पुस र माघलाई अफसिजन मानिँदै आए पनि यो वर्षको भीड र चहलपहलले पोखराको अर्थतन्त्र पुनः चलायमान भएको व्यवसायीहरूको भनाइ छ । “पर्यटकले खर्च गरेको वाहन, आवास, परिकार, मनोरञ्जन र खरीद शक्ति जोड्दा पोखराको अफसिजन अर्थतन्त्रलाई नयाँ ऊर्जा मिलेको छ,” उद्योगीहरू टिप्पणी गर्छन् । सडक महोत्सवको क्षेत्र विस्तारको लागि समेत आवाज उठ्न थालेको छ । लेकसाइडमा मात्र केन्द्रित नगरी उक्त महोत्सवको क्षेत्र विस्तार गर्न स्थानिय पोखरेलीले माग गरेका छन् ।

संक्षेपमा महोत्सवको अनुमानित प्रभावः

५ लाखभन्दा बढी पर्यटक भित्रिए,

९० प्रतिशत होटल अकुपेन्सी, होमस्टेमा पनि भीड

सडकपेटी व्यवसायीले ३० हजारदेखि ६० हजारसम्म कमाए

करिब १ अर्बभन्दा बढी कारोबारको अनुमान

अब अन्तर्राष्ट्रियकरणमा ध्यान दिने,
मडक महोत्सवको क्षेत्र विस्तारको माग