
नेपालमा हालसम्मकै उच्च रेकर्ड कायम गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले चार दिनमै ११ हजार ९१६ पिन्ट रगत संकलन गरेको छ। संस्थाको समाजसेवा प्रभागको आयोजनामा भदौ ६ गतेदेखि देशभरका शाखा तथा क्षेत्रीय कार्यालयमार्फत सञ्चालन गरिएको रक्तदान अभियानमा यो परिमाणमा रगत संकलन भएको हो।

संस्थाका नेपाल महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालका अनुसार, एकैदिन अर्थात् भदौ ६ गते मात्र ५ हजार ४७ पिन्ट रगत संकलन भएको थियो, जुन नेपालको रक्तदान इतिहासमै हालसम्मकै उच्च परिमाण हो।
यो रक्तदान अभियान संस्थाकी पूर्वमुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औँ पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा सञ्चालन गरिएको हो। विश्वविद्यालयले नेपाल र भारतमा १०० घण्टाभित्र १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको छ।
काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढ, हेटौँडा, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, राजविराज, जनकपुर, भैरहवा, पाल्पा र बागलुङलगायतका शहरमा हजारौं स्वयंसेवकले रक्तदानमा सहभागिता जनाएका थिए।
मानव जीवन बचाउन योगदान दिने उद्देश्यले गरिएको यस ऐतिहासिक रक्तदानले संस्थालाई समाजसँग अझ घनिष्ठ रूपमा जोडेको आयोजकहरूले बताएका छन्। योगाभ्यास र आध्यात्मिक शिक्षामार्फत मानसिक शान्ति प्रदान गर्दै आएको ब्रह्माकुमारी संस्थाले रक्तदानलाई सेवा र मानवीयताको उच्च उदाहरणका रूपमा प्रस्तुत गरेको छ।





