
दीननाथ बराल
पोखरा ६,मंसिर,
नेपालको लोपउन्मुख समुदायमा पर्ने राउटे जातिका केही व्यक्तिहरु पोखरा आउनु भएको छ । परम्परा देखि जंगलमा बस्दै आउने राउने समुदायका केही व्यक्तिहरु सुर्खेतबाट पोखरामा आर्थिक संकलन गर्ने उद्धेश्यले पोखरा आउनु भएको हो । शेयर बहादुर शाहीको नेतृत्वमा ७ सदस्य टोली बुधबार पोखरा आउनु भएको हो ।
टोलीले विभिन्न संघ संस्था सरकारी निकाय र केही व्यक्तिको सहयोगबाट विहिबार पोखरामा ५० हजार रुपैया संकलन गर्नु भएको छ । यसै सम्बन्धि भिडियो सामाग्रि ।
आफ्नो पर्व मनाउनको लागि भन्दै सुर्खेतबाट आएका ७ सदस्य एक टोलीले विहिबार बिहान देखि दिन भरी विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन गरी ५० हजार रुपैया प्राप्त गर्नुभयो । यही मंसिर १२ गते सुर्खेतमा आफुहरुको ठुलो पर्व वडा तिहार पर्व धुमधामका साथ मनाइने हुँदा उक्त पर्वको लागि पोखरामा आर्थिक संकलन गर्न आएको टोली नेता शेर बहादुर शाहीले बताउनु भयो । बुधबार पोखरा आएको शाही नेतृत्वको ७ सदस्य टोलीलाई पोखरा महानगरपालिका, गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालय, सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की लगायतका विभिन्न संघ संस्था तथा व्यक्तिहरुले उहाँहरुलाई आर्थिक सहयोग गर्नु भएको थियो । एक साता चल्ने उक्त पर्वमा करिब २ सय जना सहभागि हुने जहाँ ७÷८ वटा खसि समेत खाने गरी व्यबस्थापन गर्न मुखियाले निर्देशन दिएर पोखरामा रकम संकलन गर्न आएको शाहीले बताउनु भयो । हाल आफु ४२ बर्षमा पुगेको बताएका उनले अब ६० बर्ष पुगे पछि मात्र आफु मुखिया हुने बताउनु भयो ।
पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवि गुरुङसंग भेटघाट गर्दै राउटेको टोलीले आफुहरु १० बर्षमा बल्ल सहयोगको लागि आएको भन्दै आर्थिक सहयोग गर्न माग गर्नुभयोे । पोखराका मेयर धनराज आचार्य, प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई समेत नभएको अबस्थामा राउटेहरु आफ्नो कार्यालयमा आएकोले आफुहरुले २१ हजार मात्र सहयोग गरिएको उपमेयर गुरुङले बताउनु भयो । उहाँले राउटेहरुलाई आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्न आग्रह गर्दै उक्त पर्वको अग्रिम शुभकामना समेत दिनुभयो ।
त्यसै गरी राउटेहरुलाई पोखरा महानगरपालिका १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीले १ हजार, कानून महाशाखा प्रमुख नारायण शर्माले १ हजार ६ सय, पत्रकार एवं गायक सन्तोष बस्यालले १ हजार, पत्रकार सागरराज तिमिल्सनाले ५ सय व्यक्तिगत रुपमा सहयोग गर्नु भएको थियो । त्यसै गरी जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरुलाई सुर्खेत फर्किनको लागि बसको ब्यबस्था गर्न समन्वय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । साथै उनले राउटेहरुलाई खाजा खर्च स्वरुप व्यक्तिगत रुपमा सहयोेग गर्नुभयो। आर्थिक मामिला मन्त्रालयबाट भने १५ हजार। सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्रालयबाट ५ हजार सहयोग प्राप्त गरेको राउटे शेर बहादुर साहीले बताउनु भयो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ ले उहाँहरुलाई बुधबार आवासिय सहितको सुविधा दिएर व्यबस्थापन गरेको वडा अध्यक्ष रुद्रनाथ बरालले बताउनु भयो । पोखराको नागढुंगाबाट उहाँहरुलाई बुधबार राति करिब ८ः३० बजे वोलायर होटलमा व्यबस्थापन गरिएको अध्यक्ष बरालले पोखराक्लिकलाई बताउनु भयो । बिहानको खाना खाएर उहाँहरुको टोली रकम संकलन अभियानमा लागेको पत्रकार विनु थापाले बताउनु भयो । रकम संकलन अभियानमा समन्वय गरेकी थापाले उक्त सहयोग गर्ने दाताहरुलाई धन्यवाद समेत दिनु भएको छ । राउटेको टोली विहिबार साँझ सुर्खेत फर्किएको छ ।




