पोखराको नदीपुरमा क्लबस्तरीय भलिबल प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     असाेज २ गते २०८१ मा प्रकाशित


DCIM100GOPROGOPR3063.JPG

दीननाथ बराल,
पोखरा, २ असोज,

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आठौं सस्करणको खुल्ला क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा ३ नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा यही असोज ९ देखि १३ गतेसम्म उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो ।

‘भलिबल खेलको विकाससँगै नयाँ खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्नका लागि पोखरा केन्द्रको आठौ वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक मनोज खड्काले बताउनु भयो । ए फोर ग्राफिक्स डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा हुने प्रतियोगिताको पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले ८० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । पुरुषतर्फ भलिबल प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ६ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।

यस्तै महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला भलिबल प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ४ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् । उक्त प्रतियोगितामा पुरुषतर्फ कुनै पनि १ टिममा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सातौं,आठौं र नवौं प्रतियोगितामा सहभागितामा जनाएको ३ जना र महिलातर्फ २ जना मात्र खेलाडी समावेश गर्न पाउने प्रतियोगिता संयोजक खड्काले बताउनु भयो ।

२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्रले नयाँ खेलाडी उत्पादनसँगै सामाजिक कार्यमा समेत काम गर्दै आएको छ । प्रशिक्षण केन्द्रले गतवर्ष मृगौला पीडित सुरज गुरुङलाई मृगौला प्रत्यारोपण तथा उपचारका लागि १ लाख र मनकुमारी पुनलाई ब्लड क्यान्सर उपचारका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । प्रतियोगितामा १० लाख ३२ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।