
पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगितालाई सभ्य र भव्य रूपमा सफल पार्नका लागि असोज ३ गते बिहीवारका दिन अन्तरक्रिया गरिने भएको छ ।
पोखरा-२२ लाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रबिन्दु बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल आवश्यक भएकाले पोखरा २२ का सम्पूर्ण सरोकारवालासँग बृहत् अन्तरक्रिया राखिएको आयोजकले जनाएको छ ।
‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलो मिटरको खुला पर्वतीय दौडमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको प्रवद्र्धन रहेको छ ।
पोखरा क्लिक अनलाइन सञ्चार माध्यमले समसामयिक विषयमा आवाज उठाउँदै आर्थिक विकास, समृद्धि र सुशासनका पक्षमा पहरेदारी गर्दै आइरहेकोमा पोखरा आफैमा सम्भावनै सम्भावनाको पुञ्ज भएकाले त्यसमाथि थपिएका नयाँ पर्यटकीय गन्तव्यलाई विश्वसामु सुसूचित गराउनु, त्यसको प्रचारप्रसारसँगै आर्थिक समृद्धिलाई जोडेर अगाडि लैजाने सञ्चार माध्यमको भूमिका रहेकाले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दीनानाथ बरालले जानकारी दिए ।
अध्यक्ष बराल थप्छन्, हरेक व्यक्ति आफ्ना जननी र जन्मभूमिप्रति ऋणी हुन्छन्, त्यो ऋण चुक्ता गरेर नसकिए तापनि जन्मभूमिलाई विश्वमा परिचित गराउने इरादाका साथसंस्थाको वार्षिक कार्ययोजनानुसार प्रतियोगिता आयोजना गरिएको हो ।’
असोज १२ गते बिहान शुरु हुने उक्त दौड विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुङ्गिने छ ।
प्रतियोगितामा खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै महिला धावक, १६ वर्ष मुनिका बालबालिका धावक र पोखरा–२२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित पुरस्कृत हुने भएका छन् ।
उक्त प्रतियोगितामा सहभागि हुन अनलाइन रजिष्ट्रेशन खुला भइसकेको छ । जसका लागि यो लिंक क्लिक गर्नुहोला:
(https://pokharaclick.com/first-hill-running-competition-registration-form/)







