
दीननाथ बराल,
पोखरा ८, भदौ,
खेलकुद क्षेत्रमा कम बजेट विनियोजन हुँदा नेपाली खेलकुदले अपेक्षाकृत विकास गर्न नसकेको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गर्नु भएको छ । कास्की जिल्ला क्रिकेट संघ कास्कीको पाचौं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै वक्ताहरुले खेल क्षेत्रमा कम बजेट विनियोजन भएकै कारण चाहेर पनि नेपाली खेलकुदको विकास गर्न नसकिएको दाबी गर्नु भएको हो ।

उक्त कार्यक्रमको शनिबार पोखरामा उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले ८ वटा विधामा गण्डकी पदक प्रदान गर्ने तयारी गरेको बताउनु भयो । त्यसका लागि आफुहरुले कार्यविधि बनाउने अन्तिम चरणमा रहेको उहाँले जनाउनु भयो । यस विधामा खेलाडी, प्रशिक्षक, खेल संघ संस्था तथा पत्रकार समेत समेटिने सदस्य सचिव शर्माले उल्लेख गर्नु भयो ।

खेलकुदमा संघियता आए पनि यसको कार्वान्वयन गर्न नसकिएको उहाँले गुनासो गर्नुभयो । खेलकुदमा आचरणमा सुधार गर्नुपर्ने, नीति, कानूनले संचालन गर्नु पर्ने शर्माको भनाई छ । पदमा रहदा ख्याल नगर्ने सुधारका काम नगर्ने तर पद छाडे पछि गाली गर्नुको अर्थ नहुने उहाँको भनाई थियो ।

बक्सिङका अन्तरास्ट्रिय खेलाडी गणेशबहादुर भट्टराईले स्थानीय रूपमा खेलकुदले पोखरामा गति लिएको बताउदै राज्यलाई लगानी गर्न सुझाव दिनु भयो । पोखरामा खेल पर्यटनको सम्भावना रहेको उहाँले बताउनु भयो । क्यानका पूर्व उपाध्यक्ष दीपक कोईरालाले खेलकुदमा बजेटको संरचनामा परिवर्तन गर्न नसकेसम्म खेलकुदको बिकास नहुने ठोकुवा गर्नु भयो । बजेटमा ब्रेक थ्रु गरेर खेलकुदको विकास हुने उहाँको भनाई थियो ।

संघ कास्कीका अध्यक्ष संजयकान्त सिग्देलले क्यानले ५ लाख पोखरा रंगशालाको क्रिकेट मैदान मर्मत संहार गर्न सहयोग गर्ने भएको बताउनु भयो । उक्त अवसरमा संस्थाले संस्थापक अध्यक्ष डा.बिरेन्द्रसिह गुरूङ सहितका अन्य पदाधिकारी सहितका सदस्यलाई सम्मान गरेको छ । अध्यक्ष सिग्देलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघ कास्कीका पूर्व अध्यक्ष देवेन्सन प्रजु, सस्थापक सदस्य ऋषिराम सापकोटा लगायतले वोलेको सचिव भोजराज बरालले पोखराक्लिकलाई जनाउनु भयो ।