प्रदेशका भौतिक मन्त्री गुरुङलाई कारवाही गर्न माग

-


     पोखरा क्लिक     
     श्रावण १४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १४, साउन,

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारवाही गर्न माग गरिएको छ । संसदीय पत्रकार मञ्च गण्डकीले सोमबार प्रदेशका कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापा समक्ष कारवाहीको माग गरेको हो ।

नैतिक आचारणको ख्याल नगर्ने र पत्रकार माथि गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री गुरुङले नामै किटेर दिएको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको मञ्च गण्डकीका अध्यक्ष भरतराज कोइरालाले बताउनु भयो । मञ्चले सोमबार ध्यानाकर्षण गराउदै नैतिक आचारणको ख्याल नगर्ने र पत्रकारमाथि गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री गुरुङलाई कारवाही गर्न गण्डकी प्रदेश सरकार समक्ष माग गरेको उहाँले जनाउनु भयो ।

उक्त उल्लेखनिय रुपमा सहभागि पत्रकारहरु माझ ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक मुख्यमन्त्री थापाले मन्त्री गुरुङले दिएको अभिव्यक्ति प्रति आइतबार नै उहाँसंग सोधपुछ गरेको जनाउनु भयो । आगामी दिनमा यस्ता बिषयमा सरकार गम्भिर हुने बताउदै उहाँले आगामी दिनमा यस्ता घटना हुन नदिन आफुहरु कटिवद्ध भएको वचन दिनु भयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई उक्त घटनाको बिषयमा समेत जानकारी गराएको कार्यवाहक मुख्यमन्त्री थापाले पोखराक्लिकलाई जनाउनु भयो ।
हरेक खालका आन्दोलनमा राजनीति दलको साथमै रहेर मुलुकको व्यवस्था र अवस्था परिवर्तनका लागि क्रियाशील पत्रकारिता जगतमाथि हुने यसखालका व्यवहार असह्य हुने मञ्चले जनाएको छ । नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रका खातिर कठिन परिस्थितिको सामना गर्दै पेसालाई निरन्तरता दिन पत्रकारहरु वाध्य भएको बताउदै अध्यक्ष कोइरालाले पत्रकारिता पेशा नै हाल संकटमा परेका वेला यस्ता अभिव्यक्ति दिन स्वतन्त्र प्रेस माथि हनन भएको जनाउनु भयो ।

मन्त्री गुरुङको पछिल्ला गतिविधिहरु प्रति संसदीय पत्रकार मञ्च गण्डकीको गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञेप्ति मार्फत जनाएको छ । नैतिकताको आधारभूत सिद्धान्त समेत पालना नगरी, मन्त्रीले पदीय मर्यादाको ख्यालै नगरी भित्रीवस्त्र मात्र लगाएर मन्त्रालयको कुर्सीमा बस्नु आफै अशोभनीय कार्य भएको अध्यक्ष कोइरालाले बताउनु भयो । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले पालना गर्नुपर्ने आचारसंहिता विसं २०७४ चैत १२ गते प्रदेश मन्त्रिपरिषदबाट जारी भएको मञ्चले स्मरण गराएको छ । प्रदेश मन्त्री परिषदका सदस्य एवं सरोकारवालाका लागि जारी गरिएको ३० बुँदे आचारसंहिताको बुँदा नम्बर १२ मा ’आफ्नो मन्त्रालयमा जाँदा वा औपचारिक कार्यक्रममा उपस्थित हुँदा भड्किलो रुपले प्रस्तुत हुने वा मद्यपान गर्नु हुँदैन भन्ने कुरा उल्लेख छ ।

अनलाइन खबर डटकमका गण्डकी ब्यूरो प्रमुख अमृत सुवेदीको नाम लिएर २०८१ साउन १३ गते उहाँले दिनुभएको अभिव्यक्ति स्वतन्त्र प्रेसमाथिको नाङ्गो हस्तक्षेप भएको उहाँले जनाउनु भयो । यातायात व्यवसायीहरुको आन्दोलनको क्रममा रिपोटिङमा खटिएका २ जना पत्रकार माथि कुटपिटको बिषयमा सोझा पत्रकार भन्दा आफ्नो गन्जी लगायको समाचार लेख्ने अमृत सुवेदीलाई कुटनु पर्र्ने हो भन्ने आशयको अभिव्यक्ति दिनु भएको थियो । अग्रज पत्रकार गंगाधर पराजुलीले आगामी दिनमा यस्ता घटना कसैबाट पनि नदोहोर्याउन सबै माझ आग्रह गर्नु भयो । यस बिषयमा मन्त्री गुरुङले पत्रकारसंग नर्मल कुरा गर्दा जोक गरेको प्रतिकृया दिनु भयो ।