पोखराबाट करिब एक लाख यात्रु बाहिरिए, आज देखि फ्रि क्यू

-


     पोखरा क्लिक     
     कार्तिक ६ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा ६, कार्तिक

पर्यटकीय नगरी पोखराबाट करिब एक लाख यात्रु बाहिरिएका छन्। दशैं पर्व लक्षित गरी पोखराबाट एक लाख भन्दा बढी यात्रु बाहिरिएको जिल्ला ट्राफिक कार्यालय कस्कीका प्रहरी बरिष्ठ नायव निरिक्षक शिव प्रसाद पाठकले बताउनु भयो । उहाँका अनुसार पोखरा सहित कास्कीबाट हालसम्म १ लाख २५ हजार यात्रु बाहिरिएका छन्। उहाँका अनुसार पोखरा सहित कास्कीमा शनिबारसम्म १ लाख ५ हजार जना यात्रु बाहिरिनु भएको छ भने कास्कीमा ७० हजार यात्रु भित्रिनु भएको हो ।

अघिल्ला बर्षको तुलनामा करिब ४० प्रतिशत जसो यात्रुको आवाज जावातमा प्रत्यक्ष असर परेको प्रहरी बरिष्ठ नायव निरिक्षक पाठकले बताउनु भयो । सोमबार बिहानसम्म सहित गर्दा कास्कीबाट करिब १ लाख २५ हजार भन्दा बढी यात्रु बाहिरिएको उहाँले एटुजेडलाई जनाउनु भयो । अघिल्ला बर्षको जस्तो यात्रुहरुको भिडभाड पोखरा सहित कास्कीमा केही कम भएको यात्रुको माग अनुसार व्यवसायीहरुले यात्रु बहाक बसको व्यबस्था मिलाएको जिल्ला ट्राफिक कार्यालय कस्कीका प्रहरी निरिक्षक भानु शर्माले बताउनु भयो ।

यसैबिच, पोखरा क्षेत्रका यातायात व्यवसायीहरुले भने पोखराबाट यस बर्ष निकै कम सङख्यामा यात्रु बाहिरिनु भएको दाबी गर्नु भएको छ । यातायात व्यवसायिहरुले नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ–दिपावलीको अवसरमा यात्रु बाहक बसको अग्रिम टिकट बुकिङ खुल्ला गरे पनि पहिलाको जस्तो उत्साह नदेखिए पनि शुक्रबार र शनिबार अत्याधिक भिड भएको पृथ्बीराजमार्ग बस संचालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र केसीले बताउनु भयो । उहाँका अनुसार शुक्रबार र शनिबार करिब अन्य क्युको तुलनामा दोब्बर भन्दा पनि बढीको संख्या करिब ८ सय भन्दा बढी यात्रु बाहक बस तथा हाइस माइक्रो बस सेवा संचालन भएको छ । समिति अन्र्तगत करिब ६ हजार जनाले अग्रिम टिकट बुकिङ गरेको दाबी गर्दै अध्यक्ष केसीले यसपाली समिति अन्र्तगतका यात्रु बाहक बसबाट मात्र करिब ३० हजार यात्रु पोखराबाट बाहिरिएको जनाउनु भयो ।

महानवमी (सोमबार) देखि दशैं टिकाको भोलिपल्ट बुधबारसम्म यात्रु बहाक बसहरुको फ्रि क्यू हुने भएको उहाँले बताउनु भयो । कोरोना त्यसबाट प्रभावित भएको आर्थिक मन्दिका कारण बजारमा चहल पहल निकै कम भएकोले यात्रु आउ जान गर्नेहरुको सङख्यामा निकै कमी आएको अध्यक्ष केसीले एटुजेडलाई जनाउनु भयो ।

प्रा.लि.संग ७ वटा प्रदेशका २७ स्थानमा पुग्ने करिब १ हजार २ सय ९ वटा बस तथा हाइस माइक्रो बस रहेको प्रा.लि.ले दाबी गरेको छ ।
यसैबिच, पर्यटक बस संचालन गर्ने संस्था नाट्टा गण्डकीले दशैं पर्व लक्षित गरी यस बर्ष करिब ८० प्रतिशत यात्रु बाहक बस तथा माइक्रो बस संचालन गरेको छ । कोभिड १९ पछि करिब ५० प्रतिशत मात्र आफ्ना सवारी साधनहरु संचालन भएको अबस्थामा हाल यात्रुको माग र चाप अनुसार हाल ८० प्रतिशतसम्म बसहरु संचालन गरेको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताउनु भयो । नाट्टा गण्डकीमा करिब ६० वटा साना ठुला गरी यात्रु बहाक पर्यटक सवारी साधनहरु रहेका छन्।