पिसिएम कप प्लस टु बास्केटबलमा छात्र÷छात्रा दुवै उपाधी एमिसीलाई

-


     पोखरा क्लिक     
     जेठ ३१ गते २०८३ मा प्रकाशित


३१ जेष्ठ, पोखरा,

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम पिसिएम कप प्लस टु छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको उपाधी छात्र÷छात्रा दुबैतर्फ टिम एमिसीले जितेको छ । नदिपुरस्थित कलेजकै बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा एमिसीले साझापानी ‘बि’ लाई पराजित गर्दै प्रथम स्थान हाँसिल गरेको हो । त्यस्तै छात्रातर्फ फाइनलमा एमिसीले टिम मुस्कानलाई पराजित गर्दै प्रथम स्थान हाँसिल गर्यो ।

छात्रतर्फ २४ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको थियो । जितसंगै छात्रतर्फ एमिसीले नगद रु १५ हजार सहित ट्रफि, मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्यो । उपविजेता साझापानीले नगद १० हजार सहित ट्रफि , मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा छात्रातर्फ प्रथम भएको एमिसीले नगद १० हजार सहित ट्रफि, मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गर्दा उपविजेता मुस्कानले नगद ५ हजार सहित ट्रफि, मेडल प्रमाण–पत्र पुरस्कार प्राप्त गरेको खेल संयोजक बिबिए दिवा तथा बिबिए फाइनान्स संयोजक सरोज कुँवरले जानकारी दिनुभयो ।

‘च्याम्पिन फर टुडे, लिडर्स फर टुमारो’ भन्ने नाराका साथ भएको प्रतियोगिताको एक समारोहका विच कलेज प्राचार्य लिना नेगी श्रेष्ठले रेफ्रिलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले युवा नेतृत्व विकास तथा विद्यार्थी मैत्री गतिविधी बढाउने उद्येश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।