एभरेस्ट एफएमको रक्तदानमा १३५ युनिट रगत संकलन

-


     पोखरा क्लिक     
     मंसिर १२ गते २०८३ मा प्रकाशित


पोखरा, मंसिर १२,

एभरेस्ट मिडिया हाउसले आयोजना गरेको रक्तदान कार्यक्रममा १३५ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर लायन्स क्लव अफ पोखरा पिसटाउन सँगको सहकार्यमा शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १०७ जना पुरुष र २८ जना महिलाले रक्तदान गरेका हुन् ।

‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ आयोजित एफएमको रक्तदान कार्यक्रममा १५ जनाले पहिलो पटक रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीको कालिका गण, सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामपाटन पोखरा, नागरिक समाज पोखरा, महानगर प्रहरी बल, जय देउराली कृषि फार्म, संयुक्त मार्ग टोल विकास संस्था, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता महादेव गुरुङ र उनको महादेव टिम लगायतको संस्थागत सहभागिता रहेको कार्यक्रम संयोजक तथा एफएमका बरिष्ठ समाचार वाचक शिशिर पौडेलले जानकारी दिए । यसअघि रत्तदान कार्यक्रमको रक्तसञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्रकुमार केसी र आकस्मिक रक्तसञ्चार युनिट पोखराका प्रमुख हरिश्चन्द्र शर्माले पहिलो रक्तदाता द्वय पत्रकार विनोद लामिछाने र समाजसेवी टेकनाथ आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम विहान ७ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म भएको थियो । रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष कर्मकुमारी गुरुङले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिडिया हाउसले रक्तदान कार्यक्रम गरेको बताईन् । उनले रेडियोको जीवन बचाउने अभियानमा सहभागि हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन् ।

एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने उद्धेश्य राखेर एफएमले रक्तदान कार्यक्रम गर्दै आएको बताए । ‘पोखरामा रगतको अभाव भएको अवस्थामा गरिएको रक्तदान कार्यक्रमले रगतको अभाव कम मद्धत पुग्ने विस्वास छ’–उनले भने । वार्षिक क्यालेन्डर नै बनाएर मिडिया हाउसले रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए । रक्त सञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्र केसीले हरेक स्वस्थ व्यक्तिले तीन÷तीन महिनामा रक्तदान गर्न सक्ने बताए । रगतको विकल्प अहिलेसम्म बनेको छैन,उनले भने,‘रगतको विकल्प भनेको रगत नै हो,त्यसैले रक्तदान गरेर आफू पनि स्वस्थ भई अरुलाई पनि बचाउन सकिन्छ ।’ कार्यक्रमलाई तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङ, फिस्टेल नर्सिङ कलेज, सुनचाँदी व्यवसायी संघ, कास्की, बिग डिजिटल पोखरा, सिटिजन फर्निचर न्युरोड, हिमालयन एभरेष्ट इन्स्योरेज्स लिमिटेड न्युरोड, डिजिटल साउण्ड एण्ड भिजन न्युरोड, युनाईटेड रेफरेन्स ल्याब्रोटरी पोखरा, आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रा.लि रानीपौवाले सहयोग गरेको थियो । त्यस्तै कार्यक्रमलाई स्टेशन दी फूड क्लब चिप्लेढुङ्गा, कञ्चन ज्वेलर्स प्रा.लि तेर्सापट्टी, आर.डि.एस. क्याटरिङ सर्भिस तेर्सापट्टी, पोखरा भिलेज एण्ड स्पा लेकसाइड, पुन ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज प्रा.लि पस्र्याङ, ईम्पावर हेल्थ केयर सिमलचौर, गणेशमान प्रधानाङ्ग, टुँडिखेल र पोखरा १६ का जनप्रतिनिधि मञ्जु बस्यालले सहयोग गरेका थिए ।

मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम कक्ष’ निर्माणका लागि एभरेस्ट एफएमले तिर्यो सबै रकम

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम कक्ष’ निर्माणका लागि सम्झौता अनुसारको सबै किस्ता तिरेको छ । यसअघि वार्षिक रुपमा चार वर्षसम्म एक÷एक लाखको दरले चार किस्ता तिरिसकेको एफएमले शनिबार पाचौँ तथा अन्तिम किस्ता स्वरुप एक लाख प्रदान गरेसँगै ‘एभरेस्ट एफएम कक्ष’ निर्माणका लागि आवश्यक सबै किस्ता तिरिसकेको हो ।

एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “एभरेस्ट एफएम” कक्ष निर्माण गर्ने सम्झौता गरेको थियो । सम्झौता अनुसार शनिबार पाचौं तथा अन्तिम किस्ता तिरेको एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । एफएमको छैटौं वार्षिकोत्सवको अवसरमा शनिबार एफएम प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङर निर्देशक धना रायमाझीले मानव सेवा आश्रम कास्कीका संयोजक सदीस पुनलाई रकम हस्तान्तरण गरिन् । रकम ग्रहणपछि बोल्दै मानव सेवा आश्रम कास्कीका संयोजक सदीस पुनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गरेर एभरेस्ट एफएमले सञ्चारमाध्यमको दुनियामा उदाहरणीय कार्य गरेको बताए । प्रतिबद्धता अनुसारको सबै रकम तिरेकोमा एफएमलाई धन्यवाद दिदै उनले भने,‘तपाईंहरुले गरेको प्रतिबद्धता पूरा गर्नुभयो, त्यसका लागि धन्यवाद छ, हामीले एभरेस्ट एफएम कक्ष निर्माण गरिसकेका छौं, चाँडै नै सो कक्षमा आश्रितहरुलाई राखेर हामी पनि प्रतिबद्धता पूरा गर्छौं ।’ एफएम स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो ।

एभरेस्ट एफएमको बेष्ट स्टाफ अफ दी ईयर दीलिप भण्डारी

एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’ प्राविधिक दिलिप भण्डारी भएका छन् । एफएमले वर्षभरी काम गरेको आधारमा प्राविधिक भण्डारीलाई स्टाफ अफ दी ईयर घोषणा गर्दै सम्मान गरेको हो । कार्यक्रममा अध्यक्ष गुरुङ, निर्देशक धना रायमाझी, सम्पादक श्रेष्ठ, वित्त निर्देशक भोला श्रेष्ठ, कार्यकारी सम्पादक सन्देश श्रेष्ठ र प्राविधिक प्रमुख रविभुषण पराजुलीले नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोषल्ला र सम्मान पत्र प्रदान गरे ।