
पोखरा,
विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव, आत्मीयता र सामाजिक एकताको सन्देश आदानप्रदान गरिएको थियो।

समाजको आफ्नै भवन पोखरा–रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा महिला समितिका दिदीबहिनीहरूले समाजका कार्यसमिति सदस्य, संरक्षक तथा सल्लाहकारहरूलाई टीका, माला र टोपी लगाइदिएर तिहारको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा महिला समितिकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक पद्मा लाम्गादे घतानेले नेपाली संस्कृतिमा विशेष महत्व बोकेको तिहारले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सम्मान र आत्मीयतालाई थप प्रगाढ बनाउने बताउनुभयो। उहाँका अनुसार महिला समितिले वि।सं। २०८१ सालदेखि हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमले पारिवारिक सम्बन्धसँगै सामाजिक सद्भाव, आपसी सहयोग र संस्थागत एकतालाई बलियो बनाउने उहाँको विश्वास थियो।
कार्यक्रमका प्रमुख अतिथि विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्कीका अध्यक्ष बेलबहादुर विश्वकर्माले समाजले लामो ऐतिहासिक पृष्ठभूमि र सामाजिक पहिचान बोकेको उल्लेख गर्दै यसको विकास, एकता र संस्थागत गतिविधिलाई अघि बढाउन महिला समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले महिला समितिको सक्रियता र यस्ता रचनात्मक गतिविधिले समाजभित्र आपसी सम्बन्ध र सहकार्यको भावना थप बलियो बनाउने धारणा व्यक्त गर्नुभयो।
अध्यक्ष विश्वकर्माले समाजको आफ्नै भवन निर्माण तथा व्यवस्थापन कार्यलाई पूर्णता दिने उद्देश्यले यही कात्तिक २२ देखि २४ गतेसम्म देउसी–भैलो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो। संस्थाको भौतिक पूर्वाधार विकास र सामाजिक गतिविधिलाई थप व्यवस्थित बनाउन सबै सदस्य तथा शुभेच्छुकको साथ, सहयोग र सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो।
सोही अवसरमा समाजका संरक्षक होमकुमारी गडाल, माया विश्वकर्मा र प्रेम लाम्गादेलाई समाजले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिमा पुर्याएको विशेष सहयोग, योगदान र सक्रियताका लागि सम्मान गरिएको थियो। समाजका सदस्य, कार्यसमिति पदाधिकारी, संरक्षक, सल्लाहकार तथा दाजुभाइ(दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रमले चाडपर्वलाई सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धिको माध्यमका रूपमा स्थापित गरेको सहभागीहरूले बताएका थिए। कार्यक्रमको अध्यक्षता महिला समितिकी अध्यक्ष कमला सुनारले गर्नुभएको थियो भने सञ्चालन समितिकी महासचिव रिमा विश्वकर्माले गर्नुभएको थियो।





