
दीननाथ बराल,
पोखरा १९, कार्तिक,
पोखराको ऐतिहासिक तथा पर्यटकीय पहिचानसँग जोडिएको फेवाताल किनारस्थित रत्नमन्दिर, हिमागृहलगायतका सार्वजनिक सम्पत्तिलाई निजी क्षेत्रलाई लिजमा दिएर व्यापारिक प्रयोजनमा उपयोग गर्ने प्रस्तावप्रति पोखराका नागरिक समाज, पर्यटन व्यवसायी तथा सरोकारवालाले असन्तुष्टि जनाएका छन् ।

नेपाल ट्रष्टले रत्नमन्दिर, हिमागृह, बाराहीघाट खेलमैदान र रत्नचोक आसपासका बहुमूल्य जग्गा ३० वर्षसम्मका लागि निजी क्षेत्रलाई भाडामा दिएर व्यापारिक कम्प्लेक्स, होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्ने अवधारणासहितको प्रस्ताव अघि सारेपछि पोखरामा यसको पक्ष र विपक्षमा बहस सुरु भएको हो । यसै विषयमा आइतबार पोखरामा आयोजित प्रारम्भिक चरणको छलफलमा सहभागी नागरिक अगुवा तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूले फेवाताल किनारका ऐतिहासिक तथा सार्वजनिक महत्त्वका जग्गालाई व्यापारिक प्रयोजनका लागि निजी क्षेत्रको जिम्मा लगाउने प्रस्ताव स्वीकार्य नहुने धारणा राखेका राख्नु भएको छ । नागरिक समाज कास्कीका अगुवा रामबहादुर पौडेलले फेवाताल किनारका जग्गा लिजमा दिने प्रस्ताव नागरिकस्तरबाटै खारेज हुनुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक सम्पत्ति र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुको सट्टा व्यापारिक प्रयोजनमा उपयोग गर्ने सोच उचित नहुने धारणा व्यक्त गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेललगायत पर्यटन क्षेत्रका अगुवाहरूले पनि रत्नमन्दिरलगायतका सम्पदाको मौलिकता र ऐतिहासिक महत्त्व जोगाउँदै संरक्षणमैत्री ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको छ । फेवातालको संरक्षण मापदण्ड र सार्वजनिक हितलाई बेवास्ता गरेर कुनै पनि व्यावसायिक योजना अघि बढाउन नहुने उनीहरूको भनाई छ । पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको रत्नमन्दिरलाई उचित व्यवस्थापनसहित सर्वसाधारण तथा पर्यटकका लागि प्रभावकारी रूपमा उपयोग गर्न सके पर्यटकको बसाइ अवधि बढाउन र स्थानीय पर्यटन अर्थतन्त्रलाई थप चलायमान बनाउन सकिने पर्यटन व्यवसायीहरूको धारणा छ ।
नेपाल ट्रष्ट कार्यालय पोखराकी प्रमुख लक्ष्मी भट्टले भने व्यापारिक कम्प्लेक्स निर्माण गर्ने विषयमा कुनै अन्तिम निर्णय भइनसकेको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार अहिले सार्वजनिक गरिएको योजना नेपाल ट्रष्टको बोर्डस्तरमा छलफलका लागि तयार पारिएको प्रारम्भिक अध्ययनको खाका मात्रै हो । रत्नमन्दिर र हिमागृह केवल भौतिक संरचना मात्र नभई पोखराको ऐतिहासिक पहिचान, सांस्कृतिक विरासत र पर्यटकीय महत्त्वसँग जोडिएका सम्पदा हुन् ।





