पोखरामा लक्ष्मी मोटर हबले एकै दिन सार्वजनिक ग¥यो बीएआईसी र आर्कफक्सका दुई मोडल (भिडियो सहित), ३७ लाख ९६ हजारदेखि सभा एक करोड मुल्यका गाडी

-


     पोखरा क्लिक     
     कार्तिक १९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १९, कार्तिक,

पोखराको अमरसिंह चोकमा लक्ष्मी मोटर हबले चिनियाँ अटोमोबाइल ब्रान्ड बीएआईसी र यसको प्रिमियम विद्युतीय सवारी ब्रान्ड आर्कफक्सका दुई नयाँ मोडल एकैसाथ सार्वजनिक गरेको छ । नेपालका लागि बीएआईसी तथा आर्कफक्सका आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हबले पोखरामा नयाँ सोरुम सञ्चालनमा ल्याउँदै बीएआईसी बीजे६० हाइब्रिड र आर्कफक्स टी१ विद्युतीय गाडी औपचारिक रूपमा विहिबार सार्वजनिक गरेको हो ।

अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक सुनिल श्रेष्ठले संयुक्त रूपमा दुवै गाडीको अनावरण गर्दै सार्वजनिक गर्नुभयो । नयाँ सोरुम सञ्चालनसँगै पोखरा तथा समग्र गण्डकी प्रदेशका ग्राहकले यी ब्रान्डका सवारी साधन बिक्री, जानकारी तथा सेवा सुविधा स्थानीयस्तरमै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सार्वजनिक गरिएका दुईमध्ये आर्कफक्स टी१ पूर्ण विद्युतीय गाडी हो । यसको नेपाली बजार मूल्य ३७ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । एकपटक पूर्ण चार्ज गर्दा ३९० किलोमिटरसम्म चल्न सक्ने कम्पनीको दाबी छ । यसमा ७० किलोवाट क्षमताको मोटर र ४२.३ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ । त्यस्तै, बीएआईसी बीजे६० हाइब्रिड एसयूभीको मूल्य एक करोड २५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । लामो दूरीको यात्रा तथा कठिन भूगोललाई लक्षित गरी तयार गरिएको यस गाडीमा चारपाङ्ग्रे ड्राइभ प्रणाली रहेको छ । कम्पनीका अनुसार यसले ६८५ एनएम टर्क उत्पादन गर्छ भने शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.९ सेकेन्डमा लिन सक्छ ।

बीजे६० हाइब्रिडले प्रतिलिटर २० किलोमिटरसम्म माइलेज दिने र ५१ लिटर इन्धनमा ९०० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । हिउँ, बालुवा, हिलो तथा पानीयुक्त सडकका लागि छुट्टाछुट्टै ड्राइभिङ मोडसमेत उपलब्ध छन् । कठिन मौसमी अवस्था र उच्च भूभागमा समेत परीक्षण गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा लक्ष्मी मोटर हबका सेल्स हेड आकाश थापाले नेपाली बजारमा बीएआईसी तथा आर्कफक्स ब्रान्डले छुट्टै पहिचान बनाउँदै गएको बताउनुभयो । उहाँले यी ब्रान्डका सवारी साधनप्रति नेपाली ग्राहकको आकर्षण र माग बढ्दै गएको उल्लेख गर्दै पोखरामा सोरुम सञ्चालनले ग्राहकलाई थप सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।

थापाले सवारी साधन बिक्रीमा मात्र नभई बिक्रीपछिको सेवामा पनि कम्पनीले विशेष ध्यान दिने बताउनुभयो । ग्राहकको सन्तुष्टि कम्पनीको प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले गुणस्तरीय सेवा, स्पेयर पाट्र्सको उपलब्धता र ग्राहक सेवामा कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बीएआईसी यात्रुवाहक सवारी साधन तथा अटोमोबाइल प्रविधिको क्षेत्रमा स्थापित चिनियाँ उत्पादक कम्पनी हो । यसको प्रिमियम विद्युतीय सवारी ब्रान्ड आर्कफक्सले आधुनिक प्रविधि, विद्युतीय गतिशीलता र दिगो यातायातलाई प्राथमिकता दिँदै आएको छ । पोखरामा नयाँ सोरुम सञ्चालनसँगै कम्पनीले गण्डकी प्रदेशमा आफ्नो बजार विस्तार, ग्राहक सेवा तथा बिक्रीपछिको सुविधालाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।



This will close in 20 seconds