दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकार बनाएर मनोज केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी, ‘कारबाही होइन, जिम्मेवारी फेरबदल मात्रै हो’सरकार

-


     पोखरा क्लिक     
     कार्तिक १८ गते २०८३ मा प्रकाशित


काठमाडौं, १८ कात्तिक,

सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै प्रहरी सङ्गठनको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा। मनोजकुमार केसीलाई सुम्पिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकारका रूपमा खटाउने र केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।

सरकारले कार्कीलाई पदबाट हटाउने निर्णयलाई कारबाही नभई जिम्मेवारी हेरफेर मात्रै भएको दाबी गरेको छ। मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले कार्कीलाई सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको स्पष्ट पार्नुभयो।पत्रकारहरूले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउनुपर्ने कारणबारे प्रश्न गरेपछि प्रवक्ता पोखरेलले भन्नुभयो, ‘कारबाहीको रूपमा भन्दा पनि उहाँको जिम्मेवारी फेरबदल मात्रै गरेको हो। उहाँलाई सुरक्षा सल्लाहकारको रूपमा प्रधानमन्त्री कार्यालयमा ल्याइएको हो। अब नयाँ आईजीपी आउनुभएको छ, उहाँले आवश्यक गर्नुपर्ने कुरा गरिहाल्नुहुन्छ।’

सरकारले मुलुकको वर्तमान शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा सल्लाह, सुझाव र परामर्श दिन प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेको जनाएको छ। सोही पदमा कार्कीलाई खटाइएको हो। प्रवक्ता पोखरेलका अनुसार कार्की विशेष सुरक्षा सल्लाहकारमा खटिएपछि रिक्त भएको प्रहरी महानिरीक्षक पदमा एआईजी डा। मनोजकुमार केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम २०८३ कात्तिक १८ गतेदेखि लागू हुने गरी बढुवा गरिएको हो। सरकारको यो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा पुगेका केसी यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँ प्रहरी सेवामा कार्कीकै ब्याचका अधिकृत हुनुहुन्छ। दुवै जनाले २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट चर्चामा

नवनियुक्त प्रहरी महानिरीक्षक केसीको प्रहरी सेवामा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ। उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा उहाँले लामो समयदेखि अघि बढ्न नसकेको उक्त प्रकरणको अनुसन्धानलाई गति दिनुभएको थियो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहविरुद्ध केसीकै नेतृत्वमा अनुसन्धान अघि बढाइएको थियो। उहाँको नेतृत्वको टोलीले २०७९ चैत १२ गते यस प्रकरणका आरोपी केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेको थियो।

त्यसपछि सङ्गठित अपराधअन्तर्गत अनुसन्धान अघि बढ्दै जाँदा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका थिए। त्यतिबेला प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० रहनुभएका केसी नेपाली कांग्रेसका नेता तथा तत्कालीन पूर्वगृहमन्त्री खाँडलाई पक्राउ गर्न उहाँकै नेतृत्वको टोलीसहित खाँड निवास पुग्नुभएको थियो। उक्त घटनापछि कांग्रेस नेतृत्व केसीसँग असन्तुष्ट बनेको प्रहरी वृत्तमा चर्चा हुँदै आएको थियो। कांग्रेस सरकारमा रहँदासम्म उहाँले महत्त्वपूर्ण जिम्मेवारी पाउन नसकेको बताइन्छ। भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढिरहेका बेला २०८० भदौ ४ गते तत्कालीन सरकारले केसीलाई जिम्मेवारीबाट हटाएको थियो। त्यसपछि २०८२ असोज ५ गते प्रहरीको प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० मा सरुवा हुनुभएका उहाँ सीआईबीपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पुग्नुभएको थियो। प्रहरी सङ्गठनका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएका केसी अब नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा पुग्नुभएको छ। सरकारको पछिल्लो निर्णयसँगै प्रहरी सङ्गठनको नेतृत्व परिवर्तन भएको छ भने निवर्तमान आईजीपी कार्कीले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी सम्हाल्नुहुनेछ।



This will close in 20 seconds