
पोखरा १९, कार्तिक,
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने आर्चरी खेलाडीको टुङ्गो लागेको छ । गण्डकी प्रदेश आर्चरी संघले सञ्चालन गरेको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १२ पुरुष र १० महिला गरी २२ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको संघका वरिष्ठ उपाध्यक्ष योगेन्द्र शेरचनले पोखराक्लिकलाई बताउनु भयो ।

दुई दिनसम्म चलेको छनोट प्रतिस्पर्धामा प्रदेशका चार जिल्लाका ३४ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । मुस्ताङ, म्याग्दी, बागलुङ र कास्कीका खेलाडीबीच भएको प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन् । छनोट प्रतियोगितामा रिकर्भ ओपन पुरुषतर्फ कास्कीका अशिम शेरचनले ६२७ अंक जोड्दै पहिलो स्थान हासिल गरे । बागलुङका दुर्गा घर्ती मगरले ६१७, मुकेश रोका मगरले ५७९ र खड्कबहादुर घर्ती मगरले ५७४ अंक प्राप्त गर्दै राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनु भयो ।
रिकर्भ ओपन महिलातर्फ कास्कीकी रोजिना थापा मगर ५०४ अंकसहित पहिलो हुनुभयो । सोही विधामा अनुश्का शेरचनले ४७९, रिना गुरुङले ४७३ र सलिना गुरुङले ४१५ अंक प्राप्त गर्दै छनोटमा पर्नुभयो । कम्पाउण्ड पुरुषतर्फ कास्कीका सुरेश गुरुङले ६७६ अंकसहित उत्कृष्ट प्रदर्शन गरे । म्याग्दीका सुमन गुरुङ तथा कास्कीका करुण बराल र खम्बा गुरुङले पनि उक्त विधाबाट राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् । महिलातर्फ कास्कीका मोनिका राना र निता केसी छनोट हुनु भया । यसैगरी स्ट्यान्डर्ड पुरुष विधामा बागलुङका महित घर्ती मगर, रामबहादुर घर्ती मगर तथा म्याग्दीका प्रवेश फगामी र मिलन जुग्जाली छनोट हुनुभयो । महिलातर्फ कास्कीका सैनानी श्रेष्ठ, जयल इशा आचार्य, सलिना गुरुङ र आरधाना थापाले गण्डकीको प्रतिनिधित्व गर्ने भएका छन् ।
छनोट प्रतियोगितामा कास्कीबाट सबैभन्दा बढी १७ खेलाडी सहभागी भएका थिए । बागलुङ र म्याग्दीबाट समान ६ तथा मुस्ताङबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्नु भएको थियो । छनोट प्रतियोगिताको समापन प्रदेश खेलकुद परिषद्का सदस्य विनय थापाको विशेष उपस्थितिमा भएको थियो । गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष किशोर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष योगेन्द्र शेरचनले प्रतियोगिताबारे जानकारी गराउनु भएको थियो । यसैबिच, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता (२०७९) मा आर्चरी खेलतर्फ गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै टिम च्याम्पियनको उपाधि जितेको थियो । गण्डकीले ७ स्वर्ण, ४ रजत र १ कांस्य गरी जम्मा १२ पदक जितेको थियो ।





