
पोखरा,
रसुवामा गएको बाढीपहिरोबाट प्रभावितहरूका लागि उल्लेरी गाउँ सेवा समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेको संयुक्त पहलमा संकलित चार लाख एक सय पैँतालीस रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। संकलित रकम नेपाल बैंक लिमिटेडमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’मा जम्मा गरिएको हो।

सो सहयोगबारे जानकारी दिँदै सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई प्रतीकस्वरूपको चेक औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। उल्लेरी गाउँ सेवा समाज कास्की, पोखराले पूर्वनिर्धारित ‘आत्मीय भेटघाट’ कार्यक्रमलाई एक हप्ता पछाडि सारेर बाढीपहिरो पीडितको सहयोगार्थ रकम संकलन अभियान सञ्चालन गरेको समाजका अध्यक्ष हुमबिर खोरजाले जानकारी दिए। यो सहयोग रकमले बाढी प्रभावित तथा अत्यावश्यकता भएका परिवारसम्म राहत पु¥याउन मद्दत पुग्ने समाजले विश्वास लिएको उल्लेरी समाज यूकेका अध्यक्ष आनबहादुर खोरजाले बताए।
समाजले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यस मानवीय अभियानमा योगदान पु¥याउने नेपाल तथा यूकेका सम्पूर्ण दाताहरूप्रति उल्लेरी समाज यूकेका संस्थापक अध्यक्ष तथा उल्लेरी गाउँ सेवा समाज कास्की, पोखराका सचिव फवेन्द्र खोरजा र सदस्य राज खोरजा पुनले आभार व्यक्त गरे।
उल्लेरी समाज यूकेका अध्यक्ष आनबहादुर खोरजा र संस्थापक अध्यक्ष फवेन्द्र खोरजाले कोभिड महामारीका समयमा उल्लेरी गाउँका ५२ घरपरिवारलाई खाद्यान्न वितरण गरेका थिए।






