
पोखरा,
गण्डकी प्रदेश टेनिस संघको आयोजनामा सञ्चालित प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन बिहीबार १७ खेल सम्पन्न भएका छन् । ट्रयाङ्कुलिटी स्पाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत यू–१० ब्वाइज सिंगल्सको उपाधि सोनाम छिरिङ घलेले जितेका छन् ।
बिहीबार सम्पन्न फाइनलमा उनले आयान पन्तलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । अन्य उमेर समूहका इभेन्टमा क्वार्टरफाइनलका खेल सम्पन्न भएका छन् । यू–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र विक र अभिषेक विक सेमिफाइनलमा प्रवेश गरेका छन् । सुरेन्द्रले अनमोल सार्कीलाई ६–०, ६–० तथा अभिषेकले दर्शन अधिकारीलाई ६–३, ६–३ ले पराजित गरे ।
यू–१६ गल्र्स सिंगल्समा साल्भी शेरचनले एरा खत्रीलाई ६–१, ६–२ ले हराउँदै सेमिफाइनल यात्रा तय गरिन् । यू–१८ ब्वाइज सिंगल्समा शाश्वत बज्राचार्यले सन्दीप विकलाई ६–२, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । त्यस्तै, असभ सम्राट हाडाले सुरेन्द्र विकलाई ६–०, ६–० को सोझो सेटमा हराए । यू–१४ गल्र्स सिंगल्समा ताभिसी रानाले शिला गुरुङलाई ६–१, ६–० ले पराजित गरिन् । यू–१४ ब्वाइज सिंगल्समा अनमोल सार्कीले सौरभ भट्टचनलाई वाकओभरमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरे । आर्याश राज पौडेलले निधय विक्रम रानालाई ६–२, ६–१ ले हराए ।
यू–१२ ब्वाइज सिंगल्समा मार्कब पोखरेलले आरोग्य राईलाई ६–२, ६–१ तथा निधय विक्रम रानाले आयान पन्तलाई ६–०, ६–१ ले पराजित गरे । त्यस्तै, आदित्य पुन मगर खेलका क्रममा रिटायर्ड भएपछि इभान भट्टराई विजयी भए । खेलको पहिलो सेट इभानले ६–२ ले जितेका थिए । कात्तिक २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न उमेर समूहका ४३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ट्रयाङ्कुलिटी स्पाले मुख्य प्रायोजन गरेको प्रतियोगितामा कर्माचार्य बिस्कुट, सुजल फुड्स प्रालि र सोल्टी मिनरल वाटरले सहकार्य गरेका छन् । ट्रयाङ्कुलिटी स्पा देशकै ठूलो स्पा चेनसमेत हो ।





