‎खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन‎

-


     पोखरा क्लिक     
     कार्तिक ३ गते २०८३ मा प्रकाशित


‎दिननाथ बराल,
‎पोखरा, ३ कात्तिक,
‎
‎स्पेनको दोनोस्तीमा रहेका नेपालीहरूले भोटेकोशी बाढीपीडितका लागि २२ लाख रुपैयाँ राहत संकलन गरेका छन्। खेलकुदकर्मी तथा समाजसेवी अशोक लामा रुम्बाको नेतृत्वमा संकलित रकम प्रभावित क्षेत्रमा पुर्‍याएर आवश्यकताका आधारमा वितरण गरिनेछ।

‎संकलित रकममध्ये पहिलो चरणमा आठ लाख चार हजार पाँच सय ५० रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमार्फत पठाइएको र बाँकी करिब १४ लाख रुपैयाँ टोलीले प्रभावित क्षेत्रमा पुगेर स्थानीय सङ्घसंस्थासँगको समन्वयमा वितरण गर्ने रुम्बाले जानकारी दिनुभयो। ‎लायन्स क्लब अफ लेकसाइड पोखराको समन्वयमा राहत वितरणको तयारी भइरहेको स्थानीय श्रीकृष्ण श्रेष्ठले बताउनुभयो। यसबाट प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरी सहयोग गर्न सहज हुने अपेक्षा गरिएको छ। ‎राहत अभियानमा स्पेनको रेन्तेरिया नगरपालिकासहित दोनोस्तीमा रहेका नेपाली तथा अन्य शुभचिन्तकले सहयोग गरेका छन्। रुम्बाले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ।

‎यसैबीच, नेपाली समाज दोनोस्तीले बडादशैंका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। रुम्बाको नेतृत्वमा आयोजित कार्यक्रममा स्पेनमा रहेका नेपालीहरू भेला भएर दशैंको शुभकामना साटासाट गरेका थिए। ‎कार्यक्रममा सहभागीहरूले नेपाली भेषभूषा लगाउनुका साथै विभिन्न परिकारको स्वाद लिएका थिए। समाजले नेपाली संस्कृति, परम्परा र आपसी सद्भाव कायम राख्न हरेक वर्ष विभिन्न चाडपर्व मनाउँदै आएको जनाएको छ। ‎समाजले प्रवासमा रहेका नेपालीबीच एकता, सांस्कृतिक निरन्तरता र मातृभूमिप्रतिको आत्मीयता बलियो बनाउन राहत तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ।



This will close in 20 seconds