
दीननाथ बराल,
पोखरा, असोज २५,
पोखराको लेकसाइडमा खाना, कफी, खेलकुद, संगीत, वेलनेस र सिर्जनशील गतिविधिलाई एउटै स्थानमा जोड्ने उद्देश्यसहित ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको छ। लेकसाइडको स्ट्रिट नम्बर १७ मा स्थापना गरिएको पार्कले पर्यटक, स्थानीय बासिन्दा, उद्यमी र सिर्जनशील युवालाई भेटघाट, सहकार्य तथा नयाँ अनुभव आदानप्रदान गर्ने साझा थलो उपलब्ध गराउने लक्ष्य राखेको छ।
मिरक्याट इन नेपालले करिब चार रोपनी क्षेत्रफलमा चार करोड रुपैयाँको लगानीमा विकास गरेको यो पार्क परम्परागत व्यावसायिक कम्प्लेक्सभन्दा फरक अवधारणामा आधारित छ। यहाँ खानपान र कफीदेखि खेलकुद, संगीत, गेमिङ, योग, कार्यशाला, पोडकास्ट तथा सामुदायिक कार्यक्रमसम्मका गतिविधि सञ्चालन गर्न सकिने पार्कका सञ्चालक युवा व्यवसायी सागर भट्टराईले जानकारी दिनुभयो।
उहाँका अनुसार मिरक्याटको मूल अवधारणा मानिसहरूलाई भेटाउने, नयाँ ठाउँ र अनुभवसँग परिचित गराउने तथा फरक पृष्ठभूमिका व्यक्तिबीच सम्बन्ध र सहकार्य विस्तार गर्ने हो। सुरुमा एपमा आधारित अवधारणाका रूपमा अघि बढाइएको मिरक्याटलाई अहिले भौतिक संरचनासहित विस्तार गरेर व्यवहारमा उतारिएको उहाँले बताउनुभयो।
एउटै परिसरमा खानपानदेखि मनोरञ्जनसम्म
मिरक्याट पार्कमा विभिन्न व्यवसाय तथा उद्यमीले आफ्ना उत्पादन, सेवा र अनुभव प्रस्तुत गर्ने अवसर पाएका छन्। यहाँ आउनेले एउटै परिसरमा विभिन्न स्वादका परिकारको आनन्द लिनुका साथै कफी, वेलनेस, खेलकुद र मनोरञ्जनसम्बन्धी गतिविधिमा सहभागी हुन सक्नेछन्।
पोखरा रोस्टरी कफीले कफी तथा स्थानीय संस्कृतिसँग सम्बन्धित अनुभव प्रदान गर्नुका साथै कफीसम्बन्धी कक्षा सञ्चालन गर्नेछ। लावण्य वेलनेसले वेलनेस सेवा उपलब्ध गराएको छ भने पोराले रोटिसेरी चिकेन तथा स्म्यास्ड बर्गरका परिकार उपलब्ध गराउनेछ। त्यसैगरी, स्प्याडक बार्बेक्यु र उमामी मार्टमार्फत बार्बेक्यु परिकार तथा कोरियन स्न्याक्स र उत्पादनको अनुभव लिन सकिने व्यवस्था गरिएको छ।
प्रकृति, वन्यजन्तु र अनुसन्धानमा रुचि राख्नेहरूका लागि नेसनल जियोग्राफिक एक्सप्लोरर रोहित गिरीको भेटघाट केन्द्रसमेत पार्कमा रहेको छ। यसले प्रकृति तथा अनुसन्धानमा चासो राख्ने व्यक्तिहरूबीच भेटघाट, छलफल र अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको भट्टराईले बताउनुभयो। संगीत तथा सिर्जनशील गतिविधिका लागि बैदाम जाम, खेलकुद र सामाजिक अन्तरक्रियाका लागि ड्रिङ्कहाउस पिकलबल तथा गेमिङका लागि मिनी आर्केड हब सञ्चालनमा छन्। यसका अतिरिक्त योग, कार्यशाला, पोडकास्ट र विभिन्न सामुदायिक कार्यक्रम आयोजना गर्न सकिने बहुउद्देश्यीय हलको व्यवस्था पनि गरिएको छ।
पार्क परिसरमा रहेका विभिन्न छवटा भवनमा पसल तथा सेवाहरू सञ्चालनमा छन्। करिब ५० जना अट्ने क्षमताको हलले साना कार्यक्रम, छलफल, कार्यशाला र सामूहिक भेटघाटका लागि ठाउँ उपलब्ध गराउनेछ।
खुला वातावरणमा काम, सिर्जना र सहकार्य
मिरक्याट पार्कको अर्को विशेषता खुला वातावरणमा बसेर समय बिताउन तथा काम गर्न सकिने व्यवस्था हो। खुला आकाशमुनि डेक र बेन्चमा बसेर निःशुल्क उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइएको छ। विशेषगरी डिजिटल नोमाड, स्वतन्त्र रूपमा काम गर्ने व्यक्ति, सिर्जनाकर्मी, उद्यमी तथा नयाँ व्यावसायिक सोचमा काम गरिरहेका युवालाई लक्षित गरी यस्तो वातावरण तयार गरिएको भट्टराईले बताउनुभयो।
विदेशी यात्रुसँगको संगत, पर्यटन क्षेत्रको अनुभव र आफ्नै व्यावसायिक यात्राबाट प्राप्त सिकाइलाई पोखरामा नयाँ अवधारणाका रूपमा कार्यान्वयन गर्न खोजिएको उहाँको भनाइ छ। “मिरक्याट पार्कलाई एउटा व्यावसायिक कम्प्लेक्समा मात्र सीमित राख्ने हाम्रो सोच होइन। फरक–फरक रुचि र पृष्ठभूमिका मानिसहरू भेटिने, नयाँ अनुभव साटासाट गर्ने र एकअर्कासँग सहकार्य गर्न सक्ने साझा थलो बनाउने उद्देश्य हो,” भट्टराईले भन्नुभयो।उहाँका अनुसार यहाँ मानिसहरू खानपान र मनोरञ्जनका लागि मात्र नभई नयाँ विचार विकास गर्न, आफ्नो सीप र सिर्जना प्रस्तुत गर्न तथा समान रुचि भएका व्यक्तिसँग जोडिन पनि आउन सक्नेछन्।
डिजिटल प्लेटफर्मबाट पर्यटक र स्थानीयलाई जोड्ने योजना
भौतिक पार्कसँगै मिरक्याट डिजिटल प्लेटफर्म पनि सञ्चालनमा रहेको छ। यसले नेपाल आउने विदेशी पर्यटक, ब्याकप्याकर, डिजिटल नोमाड, स्थानीय बासिन्दा, गाइड, होस्ट, उद्यमी, सिर्जनाकर्मी तथा पर्यटन व्यवसायीलाई एउटै सञ्जालमा जोड्ने लक्ष्य राखेको छ। डिजिटल प्लेटफर्ममा ट्रेकिङ तथा एडभेन्चर गतिविधि, इभेन्ट, स्वयंसेवा, गाइड तथा होस्टसँग सम्पर्क, सामुदायिक बुलेटिन, स्थानीय सूचना र सिफारिसजस्ता सुविधा समेटिएका छन्।
यसको उद्देश्य पर्यटकलाई आवश्यक सूचना र सेवा खोज्न सहज बनाउनुका साथै स्थानीय व्यवसाय तथा समुदायलाई पनि पर्यटकसँग जोड्ने अवसर प्रदान गर्नु हो। डिजिटल माध्यमबाट जानकारी प्राप्त गर्ने र भौतिक स्थानमा पुगेर अनुभव लिने दुवै अवसरलाई एकीकृत गर्ने मिरक्याटको अवधारणा रहेको भट्टराईले बताउनुभयो।
प्लेटफर्मलाई सामुदायिक सूचना आदानप्रदान र आपसी सम्पर्कको माध्यमका रूपमा समेत विकास गर्ने योजना छ। यसबाट हरेक पटक छुट्टै कार्यक्रम आयोजना गर्नैपर्ने अवस्था नराखी मानिसहरूले आफ्नो रुचिअनुसारका गतिविधि, कार्यक्रम र सहकार्यका अवसर खोज्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ।
पर्यटन अनुभवबाट नयाँ व्यावसायिक अवधारणासम्म
मिरक्याट इन नेपालका सञ्चालक सागर भट्टराई अल्ट्रालाइट पाइलटका रूपमा समेत परिचित हुनुहुन्छ। उहाँले पोखराको गौरीघाट, लेकसाइडमा गौरीशंकर ब्याकप्याकर्स होस्टल पनि सञ्चालन गर्दै आउनुभएको छ। पर्यटन र आतिथ्य क्षेत्रमा प्राप्त अनुभवलाई नयाँ व्यावसायिक अवधारणासँग जोड्ने प्रयासका रूपमा मिरक्याट पार्कलाई लिन सकिन्छ। विशेषगरी स्वतन्त्र रूपमा यात्रा गर्ने पर्यटक, ब्याकप्याकर तथा डिजिटल नोमाडका लागि खानपान, मनोरञ्जन, काम गर्ने वातावरण र सामाजिक सम्पर्कका अवसर एकै ठाउँमा उपलब्ध गराउनु यसको महत्त्वपूर्ण पक्ष हो।
पोखरा प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र मनोरञ्जनका लागि परिचित गन्तव्य हो। तर पर्यटकलाई स्थानीय समुदायसँग घुलमिल हुने, नयाँ मानिस भेट्ने, आफ्नो रुचिअनुसारका गतिविधिमा सहभागी हुने र अनुभव साटासाट गर्ने अवसर उपलब्ध गराउनु पनि पर्यटनको महत्त्वपूर्ण पक्ष हो। यही आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको मिरक्याट पार्कले लेकसाइडमा पर्यटन र स्थानीय व्यवसायबीच सहकार्य विस्तार गर्ने नयाँ सम्भावना प्रस्तुत गरेको छ।
करिब चार करोड रुपैयाँको लगानीमा तयार भएको पार्कको दीर्घकालीन सफलता भने यहाँ सञ्चालन हुने गतिविधिको निरन्तरता, स्थानीय समुदायको सहभागिता, व्यवसायबीचको सहकार्य र पर्यटकले प्राप्त गर्ने अनुभवमा निर्भर रहनेछ। खाना, खेल, संगीत, सिर्जनशीलता र समुदायलाई एउटै थलोमा जोड्ने लक्ष्यसहित सञ्चालनमा आएको मिरक्याट पार्कले पोखराको लेकसाइडलाई घुमफिर र मनोरञ्जनको गन्तव्यका रूपमा मात्र नभई भेटघाट, सहकार्य र नयाँ विचार जन्माउने साझा स्थानका रूपमा थप पहिचान दिलाउने अपेक्षा गरिएको छ।






