बेगनासमा तीज गीत प्रतियोगिता, रसुवा बाढी पीडितलाई समर्पण

-


     पोखरा क्लिक     
     भाद्र २४ गते २०८३ मा प्रकाशित


पोखरा,

पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला, संस्कृति र मौलिकताको संरक्षण गर्ने उद्देश्यले पोखराको बेगनासमा आयोजना हुन लागेको खुला तीज गीत प्रतियोगिता रसुवा बाढी पीडितप्रति समर्पित गरिने भएको छ । पोखरा पार्टी मिडिया प्रालिको आयोजनामा यही भदौ २७ गते शनिबार पोखरा–३१ स्थित बेगनास वराह क्षेत्रमा प्रतियोगिता आयोजना हुन लागेको हो। पछिल्लो समय बाढीपहिरोबाट प्रभावित रसुवाका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै प्रतियोगितालाई पीडितहरूको सहयोग र सम्मानमा समर्पित गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको अध्यक्षता पोखरा पार्टी मिडिया प्रालिका अध्यक्ष सुरेन्द्र सापकोटा भाटले गर्नेछन्। कार्यक्रमको संयोजन सिद्धान्त शाही ठकुरीले गर्नेछन्। बेगनास ताल वराह क्षेत्र विकास संस्थाको समन्वयमा हुने प्रतियोगितामा तीज गीतका माध्यमबाट बेगनास क्षेत्रको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, कला र मौलिक पहिचानलाई देश–विदेशसम्म चिनाउने लक्ष्य राखिएको आयोजकको भनाइ छ। कार्यक्रममा लोकदोहोरी क्षेत्रका चर्चित कलाकार तथा गायक रामजी पौडेल, सावित्री शाही, नेत्र गुरुङलगायतको सांगीतिक प्रस्तुति रहनेछ। स्थानीय कलाकार, आमा समूह तथा विभिन्न संघसंस्थाको सहभागिताले कार्यक्रमलाई थप रोचक बनाउने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट हुने समूहका लागि नगद पुरस्कारसमेत व्यवस्था गरिएको छ। प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार तथा सान्त्वना स्थान हासिल गर्ने समूहले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

आयोजकका अनुसार प्रतियोगिताले तीज पर्वको मौलिकता र सांस्कृतिक पक्षलाई संरक्षण गर्नुका साथै बेगनास क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउनेछ। तीजका गीत तथा प्रस्तुतिमार्फत स्थानीय कला–संस्कृति र बेगनासको पर्यटन सम्भावनालाई उजागर गर्ने प्रयास गरिएको जनाइएको छ। कार्यक्रम संयोजक शाही ठकुरीका अनुसार यसपटकको प्रतियोगितामा मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिइएको छ। रसुवा बाढी पीडितका पीडा र भोगाइलाई गीतका माध्यमबाट समेत प्रस्तुत गरिने उनले बताए। उनका अनुसार प्रतियोगिताबाट खर्च कटाएर बचत भएको केही रकम बाढी पीडितको सहयोगका लागि उपलब्ध गराइनेछ। तीजको सांस्कृतिक उत्सवलाई सामाजिक सेवासँग जोड्दै आयोजना गर्न लागिएको प्रतियोगिताले कला, संस्कृति, पर्यटन र मानवीय सहयोगबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।