विश्व कीर्तिमानी पर्वतारोही निम्स दाईप्रति पोखरामा श्रद्धाञ्जली, दीप प्रज्वलन गर्दै योगदानको प्रशंसा (भिडियो सहित)

-


     पोखरा क्लिक     
     श्रावण १९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, साउन १९,

विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ तथा पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी दिवंगत हुनु भएका अन्य नेपाली आरोहीहरूको स्मृतिमा पोखरामा आज श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन गरिएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा–६, लेकसाइडस्थित बाराहीचोकको चौतारीमा विश्व कीर्तिमानी नेपाली पर्वतारोही निम्स दाई सहितका हिमाल आरोहीको स्मृतिमा उहाँहरुले पुर्याएको योगदानको प्रशंसा गर्दै दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल लगायत पर्यटन क्षेत्रका व्यक्तित्व, पर्वतारोहण समुदाय, व्यवसायी तथा सर्वसाधारणले दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले निम्स दाईको निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको बताउँदै उहाँको योगदान इतिहासमा सदैव अमर रहने उल्लेख गर्नुभयो । “हामी बिहान उठ्नेबित्तिकै हिमाल देख्छौं । ती हिमाललाई संसारभर चिनाउने व्यक्तित्वमध्ये निम्स दाई अग्रपंक्तिमा हुनुहुन्थ्यो । विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर उहाँले नेपालको गौरव विश्वभर फैलाउनुभयो । उहाँसहित दिवंगत भएका सबै नेपाली आरोहीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु,” उहाँले भन्नुभयो । मेयर आचार्यले बेलायत सरकारले प्रदान गरेको उच्च सम्मानको स्मरण गर्दै ब्रिटिस आर्मीबाट विश्व पर्वतारोहणको शिखरसम्म पुगेका निम्स दाई नेपाली युवाका लागि साहस, अनुशासन र आत्मविश्वासका प्रेरणास्रोत भएको बताउनुभयो ।

कार्यक्रममा वक्ताहरूले निम्स दाईले व्यक्तिगत कीर्तिमान मात्र नभई नेपालको पर्वतारोहण, हिमाल पर्यटन र नेपाली आरोहीको विश्वव्यापी पहिचानलाई नयाँ उचाइमा पु¥याएको उल्लेख गर्दै उहाँको योगदान पुस्तौंपुस्तासम्म स्मरणीय रहने धारणा व्यक्त गर्नु भएको परिषदका महासचिव जीवनराज सापकोटाले बताउनु भयो । २५ जुलाई १९८३ मा म्याग्दीको दाना गाउँमा जन्मिनु भएको निर्मल पुर्जा सानैमा परिवारसँग चितवन बसाइँ सर्नु भएको थियो । भरतपुरस्थित स्मल हेभन विद्यालयमा अध्ययन गरी उहाँ सन् २००३ मा ब्रिटिस गोर्खा सेनामा भर्ती भएर सेवा गर्नुभयो । त्यसपछि बेलायतको अत्यन्त विशिष्ट सैन्य इकाइ स्पेसल बोट सर्भिस (एसबीएस) मा छनोट हुने पहिलो गोर्खा हुनु भयो । सन् २०१२ मा सगरमाथा आधार शिविरको पदयात्राबाट हिमालप्रतिको आकर्षण बढेपछि उहाँले पर्वतारोहण सुरु गर्नुभयो ।

श्रद्धाञ्जली सभामा विदेशी पर्यटकहरुले समेत निम्स दाई तथा दिवंगत सबै आरोहीहरूको सम्झनामा मौनधारण गर्दै दीप प्रज्वलन गर्नु भएको थियो । केही दिनअघि पाकिस्तान पुगेका निम्स दाई ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा बिहीबार आएको हिमपहिरोमा परेर बेपत्ता भएका हुनु भएको थियो । पछि उहाँको निधन भएको पुष्टि भयो। उक्त अभियानमा ६ जना नेपालीसहित १० जना आरोही सहभागी हुनु भएको थियो । पर्वतारोहणसँगै निम्स दाईले निम्सदाइ फाउन्डेसन मार्फत हिमाली समुदायमा शिक्षा, आपत्कालीन राहत तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्नु भएको थियो । “बिग माउन्टेन क्लिनअप“ अभियान मार्फत अग्ला हिमालमा थुप्रिएको फोहोर व्यवस्थापन अभियानसमेत सञ्चालन गर्नु भएको थियो । बेलायती महारानी एलिजाबेथ द्वितीयबाट एमबीई सम्मान प्राप्त गर्नु भएको निम्स दाईले पियोले डी’ओर एसिया सम्मान तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गर्नु भएको थियो ।