संघीयता र प्रदेशसभाबारे जनप्रिय क्याम्पसका विद्यार्थीलाई अभिमुखीकरण

-


     पोखरा क्लिक     
     श्रावण १९ गते २०८३ मा प्रकाशित


पोखरा,

संसदीय पत्रकार मञ्च गण्डकीले युवापुस्तालाई संघीय शासन प्रणाली र प्रदेशसभाको भूमिका तथा अभ्यासबारे जानकारी गराउने उद्देश्यले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। मञ्चको ‘युवा लक्षित संसदीय पहुँच कार्यक्रम’ अन्तर्गत मंगलबार आयोजित कार्यक्रममा क्याम्पसका विभिन्न तहमा अध्ययनरत १०८ जना विद्यार्थी सहभागी भएका थिए।

कार्यक्रममा गण्डकी प्रदेशसभा सचिवालयका कानुनतर्फका उपसचिव आमोद दाहालले नेपालको संघीय शासन व्यवस्था, प्रदेशको क्षेत्राधिकार तथा प्रदेशसभाको संरचनाबारे सहजीकरण गर्दै संघीयता नेपालका विविध समुदायलाई समेट्ने र शक्ति विकेन्द्रीकरणमार्फत नागरिकलाई शासनको पहुँचमा पुर्‍याउने प्रणाली भएको बताए। उनले नेपालको संविधानले तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरेको उल्लेख गर्दै ३१ वटा मौलिक हक सुनिश्चित गरिएको जानकारी दिए। संघीय व्यवस्थाले स्थानीय आवश्यकताअनुसार विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा विविधताको सम्मान गर्दै समावेशी शासन प्रणालीलाई सुदृढ बनाउने उनको भनाइ थियो।

दाहालले गण्डकी प्रदेशसभाको संरचना, अधिकार र कार्यसम्पादनबारे कार्यपत्र प्रस्तुत गर्दै प्रदेशमा ११ जिल्ला र ३६ निर्वाचन क्षेत्र रहेको जानकारी दिए। प्रदेशसभामा ६० सदस्य रहने व्यवस्था रहेको उल्लेख गर्दै ३६ जना प्रत्यक्ष निर्वाचन र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने बताए। हाल प्रदेशसभामा २३ जना आदिवासी जनजाति, ३१ जना खस–आर्य र ६ जना दलित समुदायको प्रतिनिधित्व रहेको तथ्यांक पनि उनले प्रस्तुत गरे। जनप्रिय बहुमुखी क्याम्पसका प्लस टु संयोजक मदनकुमार जैसीले कक्षा १२ को सामाजिक अध्ययन विषयमा संघीयता र नेपालको शासन व्यवस्थाबारे अध्ययन गराइने भएकाले यस्तो कार्यक्रमले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक बुझाइ प्राप्त गर्न महत्त्वपूर्ण सहयोग पुग्ने बताए। संसदीय पत्रकार मञ्चले शैक्षिक संस्थामा पुगेर सञ्चालन गरेको कार्यक्रम प्रशंसनीय रहेको उनको भनाइ थियो।

उपप्राध्यापक वेदहरि तिमल्सिनाले पत्रकारको भूमिका समाचार सम्प्रेषणमा मात्र सीमित नरही नागरिकमा राजनीतिक र संवैधानिक चेतना अभिवृद्धि गर्ने कार्य पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए। उनले विद्यार्थीलाई नेपालको राजनीतिक प्रणाली, संघीय संरचना र राज्य सञ्चालन प्रक्रियाबारे जानकारी हुनु आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले नेतृत्व विकास र नागरिक सचेतना बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। संसदीय पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक भरत कोइरालाले युवा पुस्तामा संघीयता, प्रदेशसभा र संसदीय अभ्यासप्रति सही बुझाइ विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनमा यस्ता कार्यक्रम गण्डकी प्रदेशका अन्य शैक्षिक संस्थामा समेत सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रममा गण्डकी प्रदेशसभाले निर्माण गरेका कानुन, आर्थिक कार्यविधि तथा प्रदेशका संवैधानिक अधिकारका विषयमा पनि विद्यार्थीलाई जानकारी गराइएको थियो। अन्तर्क्रियाका क्रममा विद्यार्थी विनीता क्षेत्री र मन्दीप पोखरेलले मौलिक हक, संवैधानिक व्यवस्था तथा प्रदेश सरकारको भूमिकाबारे जिज्ञासा राखेका थिए। कार्यक्रममा संसदीय पत्रकार मञ्चका संस्थापक अध्यक्ष लालप्रसाद शर्मा, सल्लाहकार केशवशरण लामिछाने, सहसचिव उमा आले मगर, कोषाध्यक्ष ऋषिराम बराल, मञ्चका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। संसदीय पत्रकार मञ्च गण्डकीले प्रदेशसभा र नागरिकबीच प्रभावकारी संवाद स्थापित गर्दै संसदीय गतिविधिप्रति जनचासो अभिवृद्धि गर्ने उद्देश्यले नियमित रूपमा संसदीय पहुँच कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।