
दीननाथ बराल,
पोखरा १५, साउन,
पोखरा–२२ (पुम्दी—भुम्दी) को कोदीमा भोलि (शनिबार) दोस्रो कोदो दिवसको अवसरमा विभिन्न कार्यक्रम हुने भएको छ । कोदो खेतीको प्रवद्र्धन, स्थानीय उत्पादनको संरक्षण तथा पोषणयुक्त खाद्यान्नको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका–२२ को कोदीमा शनिबार दोस्रो कोदो दिवस भव्य रुपमा मनाउने तयारी गरिएको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो ।

उक्त अवसरमा १० प्रकारका कोदोका परिकार प्रदर्शनी गरिने भएको छ भने कोदो बिक्रि समेत हुने भएको उहाँले जनाउनु भयो । पुम्दी–भुम्दी कृषि सहकारी संस्था, पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा र कृषि विकास महाशाखाको संयुक्त आयोजनामा हुने कार्यक्रम वडा नं. २२ को कार्यालय, वडास्तरीय कृषि सञ्जाल तथा विभिन्न स्थानीय संघ–संस्थाको समन्वयमा कोदो दिवस विभिन्न कार्यक्रम सहितको महोत्सवको रुपमा मनाउन लागेको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो । यस वर्ष कोदो दिवसको अवसर पारेर पुम्दी–भुम्दीको कोदो पकेट क्षेत्र कोदीमा महोत्सव आयोजना गर्न लागिएको बताउदै उहाँले उक्त कार्यक्रम मार्फत कोदो खेतीप्रति किसान र उपभोक्ताको आकर्षण बढाउनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको जनाउनु भयो ।
कोदो दिवसको अवसरमा कोदोका विभिन्न जातको प्रदर्शनी, कोदो खेतीसम्बन्धी सहजीकरण तथा परामर्श, कोदो रोपाइँ प्रतियोगिता, कृषक तथा उपभोक्ता बीच अन्तरक्रिया लगायतका कार्यक्रम हुनेछन् । आगन्तुकका लागि करिब १० प्रकारका कोदोबाट बनेका परिकार प्रदर्शन तथा स्वाद लिन सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै स्थानीय कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले भजन–कीर्तन तथा अन्य सांस्कृतिक कार्यक्रम पनि समावेश गरिने भएको छ । पोखरामा परम्परागत रूपमा उत्पादन हुँदै आएका कोदोका विभिन्न स्थानीय जातमध्ये पागुनो कोदो, डल्ले कोदो, काबुनो, चिनो,भोगे सामा, जुनेली र धानकोदो जातको समेत प्रदर्शनी गरिने तयारी गरिएको छ । महाशाखाका प्रमुख कडरियाका अनुसार कोदो पौष्टिकताका दृष्टिले अत्यन्त महत्वपूर्ण अन्नबाली हो । यसमा आइरन, फस्फोरस, क्याल्सियम, फाइबर लगायतका पोषक तत्त्व प्रशस्त मात्रामा पाइने भएकाले यसको उत्पादन र उपभोग दुवै बढाउन महानगरले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कोदो उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले किसानका लागि प्रति किलोग्राम ९० रुपैयाँ समर्थन मूल्य समेत निर्धारण गरेको छ । महानगरका अनुसार हाल पोखरामा करिब ३ हजार ९५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ । साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने गरिन्छ। कोदोजन्य बालीको उत्पादन बढाउन, आयात घटाउन र यसको पौष्टिक महत्व बारे जनचेतना जगाउन सरकारले यो दिवस गत बर्ष २०८२ सालदेखि मनाउन थालेको हो ।




