सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच ग्राहकलाई छुट दिने सम्झौता

-


     पोखरा क्लिक     
     श्रावण ९ गते २०८३ मा प्रकाशित


पोखरा,

सिद्धार्थ बैंक लिमिटेड र पोखराको लेकसाइडस्थित बर पीपल रिसोर्ट प्रालिबीच ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकको डिजिटल बैंकिङ प्रवद्र्धन गर्ने, सेवा बिस्तार गर्दै बैंकमा आवद्ध ग्राहकहरुको सुविधाका लागि हालै साझेदारी गरिएको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ र बर पीपल रिसोर्टका सञ्चालक एवं निर्देशक अमरजंग गुरुङले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बर पीपल रिसोर्टमा ग्राहकहरूले सिद्धार्थ बैंकको डिजिटल माध्यम प्रयोग गरी भुक्तानी गर्दा विभिन्न छुट पाउने छन् । बैंकको डेबिट, क्रेडिट, प्रिपेड कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने सम्झौता भएको बैंकका गण्डकी प्रमुख श्रेष्ठले बताए ।
साधारण कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशत तथा बैंकको नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गर्दा १५ प्रतिशतसम्मको विशेष छुट पाउने सम्झौतामा छ । यो सम्झौताले ग्राहकहरूलाई किफायती मूल्यमा स्तरीय सेवा उपलब्ध गराउनुका साथै नगद रहित अर्थतन्त्र र डिजिटल भुक्तानी प्रणालीलाई थप उत्प्रेरित गर्ने बैंकले विश्वास लिएको श्रेष्ठको भनाइ छ । बैंकसँगको सम्झौताले पोखरा घुम्न आउने देशभरका ग्राहकले सुविधा पाउने रिसोर्ट सञ्चालक गुरुङले बताए । ‘हामी चाहन्छौं, यो सम्झौताले बर पिपल रिसोर्टमा सुविधा प्रयोग गरुन्, पोखरा घुमुन् । यसले पोखराकै पर्यटनमा पनि टेवा पुग्ने छ,’ गुरुङले भने, ‘देशभरका नागरिकलाई एक पटक पोखरा जाउँ जाउँ लाग्ने र पोखरा आइहाले, सिद्धार्थ बैंकको ग्राहक छन् भने छुट सुविधा प्रयोग गर्न सक्ने छन् ।’ सिद्धार्थ बैंक लिमिटेड नेपालको बैंकिङ क्षेत्रमा एक अग्रणी र ‘क’ वर्गको वाणिज्य बैंक हो । ‘सम्बन्ध सधैँलाई’ भन्ने नाराका साथ स्थापित यस बैंकले देशभर १९६ वटा शाखाहरू र २२६ भन्दा बढी एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ग्राहक केन्द्रित सेवा, बलियो वित्तीय अवस्था र सुरक्षित डिजिटल प्लेटफर्मका कारण यो बैंक नेपाली ग्राहकहरू माझ लोकप्रिय छ ।
पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडको स्ट्रिट नं। २८, मनिमार्गमा अवस्थित बर पीपल रिसोर्ट ५ तारे स्तरको हो । करिब ११ रोपनी जग्गामा फैलिएको यो रिसोर्ट परम्परागत नेपाली वास्तुकला र स्थानीय सामग्रीहरूको प्रयोग गरी कलात्मक शैलीमा निर्माण गरिएको छ । फेवा ताल र वरपरका हरिया पहाडहरूको मनोरम दृश्य देखिने डिलक्स, सुपर डिलक्स र एक्जिक्युटिभ सुइट गरी रिसोर्टमा ४५ भन्दा धेरै कोठाहरु छन् । पौडी खेल्दै पोखराको प्रकृतिको आनन्द लिन सकिने आकर्षक आउटडोर पनि यहाँ छ ।

अत्याधुनिक स्पा, साउना र फिटनेस जिमको व्यवस्था रिसोर्टमा छ । रैथाने नेपाली स्वादका साथै अन्तर्राष्ट्रिय परिकारहरू पस्कने फाइन–डाइन रेस्टुरेन्ट र कफी सपले रिसोर्टको आकर्षण बढाएको छ भने सुन्दर बगैँचा, व्यावसायिक सभा–समारोहका लागि मिटिङ हल र पर्याप्त पार्किङ क्षेत्रले पनि धेरैको रोजाइमा रिसोर्ट परेको छ । बर पीपल रिसोर्टले पोखराको हस्पिटालिटी क्षेत्रमा खुलेको छोटो समयमै देश–विदेशका पर्यटकहरूमाझ ख्याति कमाउन सफल भएको छ । नेपालीपन झल्कने इँटा र काठको बुट्टाले कुँदिएको मौलिक डिजाइनले पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ ।