
दीननाथ बराल,
पोखरा, असार २२,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा रहेको फ्लाई दुबईले आफ्नो सेवा दीगो र प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्रको सक्रिय साथ आवश्यक रहेको जनाएको छ । आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि पोखरा–दुबई नियमित उडान सुरु गर्ने घोषणा गर्दै सन् २०२७ मार्च २६ सम्मका लागि टिकट बुकिङ खुलाइसकेको कम्पनीले उडानको दीर्घकालीन सफलताका लागि पोखरामा सरकारी तथा निजी क्षेत्रसँग उच्चस्तरीय भेटघाटलाई तीव्र बनाएको हो ।
फ्लाई दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज शाही नेतृत्वको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका मणिराज लामिछाने, कास्की प्रशासन तथा पर्यटनसँग सम्बन्धित विभिन्न निजी क्षेत्रका संस्थासँग छुट्टाछुट्टै भेटवार्ता गर्दै आवश्यक सहयोग आग्रह गरेको हो ।
भेटका क्रममा फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई सरकारले उपलब्ध गराउँदै आएको सहुलियत कम्तीमा तीनदेखि पाँच वर्षसम्म निरन्तर गर्न आग्रह गरेको छ । हाल सरकारले अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सलाई प्रति टन हवाई इन्धनमा १०० अमेरिकी डलरसम्म छुट, उडान तथा अवतरण शुल्कमा एक वर्षसम्म शतप्रतिशत छुट, सञ्चार सेवा तथा सुरक्षा जाँच शुल्कमा समेत सहुलियत दिने व्यवस्था गरेको छ । तर उक्त सुविधा आगामी सेप्टेम्बर १७ बाट समाप्त हुने भएकाले त्यसको अवधि थप नगरे नियमित सेवा सञ्चालन गर्न चुनौती हुने फ्लाई दुबईको भनाइ छ । जनरल म्यानेजर शाहीले सरकारले दिएको प्रारम्भिक सहुलियतले मात्रै दीर्घकालीन व्यावसायिक सञ्चालन सम्भव नहुने उल्लेख गर्दै सरकारबाट नीतिगत निरन्तरता आवश्यक रहेको बताउनुभयो । “हामी उडानका लागि पूर्ण तयारीमा छौँ। तर दीगो सञ्चालनका लागि सरकारले दिएको सहुलियतको अवधि विस्तार हुनु अत्यन्त आवश्यक छ,“ उहाँले भन्नुभयो।
फ्लाई दुबईले पोखराबाट वैदेशिक रोजगारीमा जाने यात्रुको सहजताका लागि श्रम स्वीकृति सेवा पोखराबाटै उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेको छ । शाहीका अनुसार अहिले श्रम स्वीकृतिका लागि काठमाडौं जानुपर्ने बाध्यताले धेरै यात्रु काठमाडौंबाटै उडान गर्न बाध्य हुन्छन्। यदि श्रम स्वीकृति पोखराबाटै उपलब्ध हुने व्यवस्था गरियो भने पोखरा–दुबई उडानमा यात्रुको संख्या उल्लेख्य रूपमा बढ्ने कम्पनीले पोखराक्लिक समक्ष बताएको छ ।

“यदि यात्रुले श्रम स्वीकृतिका लागि काठमाडौं जानैपर्ने अवस्था रह्यो भने पोखराबाट उडान रोज्ने आधार कमजोर हुन्छ। त्यसैले श्रम स्वीकृति पोखराबाटै उपलब्ध गराउने व्यवस्था आवश्यक छ,“ उहाँले भन्नुभयो। फ्लाई दुबईका प्रतिनिधिका अनुसार पोखराबाट नियमित उडान सुरु भएपछि दुबई हुँदै विश्वका करिब २६० अन्तर्राष्ट्रिय गन्तव्यमा सहज कनेक्टिङ सुविधा प्राप्त हुनेछ । यसले युरोप, अमेरिका, जापान, मध्यपूर्व तथा अन्य मुलुकबाट पोखरामा अन्तर्राष्ट्रिय पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।

कम्पनीले सुरुमा दैनिक एक उडान सञ्चालन गर्ने तालिका बनाए पनि बुकिङ सन् २०२७ मार्चसम्म खुला गरिसकेको भन्दै पोखरा–दुबई सेवा दीर्घकालीन रूपमा सञ्चालन गर्ने स्पष्ट संकेत दिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराबाट अन्तर्राष्ट्रिय उडान नियमित हुनु गण्डकी प्रदेशको दीर्घकालीन आवश्यकता भएको उल्लेख गर्दै प्रदेश सरकारले आवश्यक सबै समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संघीय सरकारसँग सरकारी सहुलियतको अवधि थप गर्ने, श्रम स्वीकृति पोखराबाटै उपलब्ध गराउनेलगायत विषयमा पहल गर्ने आश्वासन दिनुभयो । उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पनि पोखरा–दुबई उडानले प्रदेशको पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गर्दै आवश्यक प्रवद्र्धन र समन्वयमा प्रदेश सरकार सक्रिय रहने बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले उडान सफल बनाउन आवश्यक सहकार्य गर्ने र संघ तथा प्रदेश सरकारसँग समन्वय बढाउने प्रतिबद्धता जनाउनुभयो ।

फ्लाई दुबईको टोलीले पोखरा पर्यटन परिषद, पोखरा उद्योग वाणिज्य संघ, रेवान पोखरा, नाट्टा, हान, टान, ना लगायत पर्यटनसँग सम्बन्धित निजी क्षेत्रका संस्थासँग पनि छलफल गरेको छ । रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले फ्लाई दुबईमार्फत आउने पर्यटकलाई होटल, रेष्टुरेन्ट तथा अन्य पर्यटन सेवामा विशेष सहुलियतसहित गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा छलफल भएको जानकारी दिनुभयो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले अन्तर्राष्ट्रिय उडान पोखराको दीर्घकालीन आवश्यकता भएकाले निजी क्षेत्रले मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाई दुबई र इमिरेट्स समूहको सेवा सफल हुन सके पोखराको पर्यटनमा ऐतिहासिक परिवर्तन आउने बताउनुभयो । उहाँले यसअघि सुरु भएका केही अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको अनुभव दोहोरिन नदिन सरकार, निजी क्षेत्र र स्थानीय समुदाय सबैले अपनत्व लिनुपर्ने आवश्यकता औँल्याउनुभयो । पोखरामा भएका सबै भेटघाटबाट फ्लाई दुबईको टोली उत्साहित बनेको छ र अब सरकारी प्रतिबद्धता छिट्टै औपचारिक निर्णयमा परिणत हुने अपेक्षा कम्पनीले गरेको छ ।
करिब २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन भए पनि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान नहुँदा अपेक्षित उपलब्धि हासिल गर्न सकेको थिएन। यसअघि भएका चार्टर तथा सीमित अन्तर्राष्ट्रिय उडानले निरन्तरता नपाएपछि विमानस्थलको प्रभावकारिता माथि प्रश्न उठ्दै आएको थियो । यस्तो अवस्थामा फ्लाई दुबईको नियमित सेवा सफल र दीगो बन्न सके पोखराको पर्यटन, होटल व्यवसाय, वैदेशिक रोजगारीका यात्रु तथा समग्र गण्डकी प्रदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा पर्यटन व्यवसायीहरूले गर्नु भएको छ ।






