
दीननाथ बराल,
पोखरा १९, असार,
बेरोजगार युवा र रोजगारदातालाई एउटै थलोमा जोड्ने उद्देश्यका साथ पोखरामा आज (शुक्रबार) भएको रोजगार मेला (जब फेयर) मा करिब ३ हजार युवा रोजगारको खोजिमा आउनु भएको छ । पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्सको संयुक्त आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा आयोजित मेलामा गण्डकी प्रदेशका करिब ३ हजार युवा बिद्यार्थीहरु नयाँ रोजगारको खोजिमा उक्त मेलामा सहभागि भएको ग्रोथ सेलर्सका संस्थापक अध्यक्ष मोहनराज ओझाले बताउनु भयो ।
मेलामा सहभागी युवाले विभिन्न कर्पोरेट हाउस तथा व्यावसायिक प्रतिष्ठानबारे जानकारी लिन उल्लेखनीय चासो देखाएको उहाँले बताउनुभयो । कुनै कम्पनीमा काम गर्न आवश्यक सीप, दक्षता र तयारीबारे युवालाई सचेत बनाउने उद्देश्य पनि मेलाको रहेको उहाँले उल्लेख गर्नुभयो ।“सीप, अवसर र रोजगारी“ भन्ने नारासहित आयोजित मेलामा बैंक, अस्पताल, उत्पादनमूलक उद्योग, मोटर कम्पनीसहित ५१ वटा प्रतिष्ठित रोजगारदाता कम्पनीको सहभागिता रहेको थियो ।
एक दिने उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले रोजगार सिर्जना र स्वरोजगार प्रवद्र्धन महानगरको प्राथमिकतामा रहेको बताउनुभयो । अनलाइनमार्फत करिब एक हजार पाँच सय जनाले आवेदन दर्ता गरेको बताउदै उहाँले उत्तिकै सङख्यामा मेलामा रोजगारको खोजि हुन सक्ने बताउनु भयो । महानगरले रोजगारको समन्वयसँगै कम्तीमा २० जनालाई व्यवसाय प्रवद्र्धनका लागि सीपमूलक तालिम उपलब्ध गराउने तयारी गरेको उहाँले जानकारी दिनुभयो । मेलामा रोजगार खोज्ने युवाले आफ्नो व्यक्तिगत विवरण (सीभी) पेस गर्न सक्ने, रोजगारदाताले आवश्यक जनशक्तिबारे जानकारी दिने तथा योग्य उम्मेदवारसँग प्रत्यक्ष अन्तर्वार्ता लिने व्यवस्था गरिएको थियो । साथै, करियर परामर्श, पेशागत मार्गदर्शन र विभिन्न कम्पनीमा उपलब्ध रोजगारीका अवसरबारे जानकारी प्राप्त गरेका छन् ।
मेयर आचार्यले पछिल्लो समय ठूलो संख्यामा युवा रोजगारीको खोजीमा रहेको अवस्थामा आफ्नो सीप, योग्यता र अनुभवअनुसारको अवसर खोज्न यस्ता रोजगार मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले रोजगार मेला बेरोजगार युवा र निजी क्षेत्रबीचको सम्बन्ध विस्तार गर्ने प्रभावकारी माध्यम भएको बताउनुभयो । आफ्नै देशमा बसेर रोजगारी र उद्यमशीलताको वातावरण सिर्जना गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ थियो । अध्यक्ष कार्कीले नेपाली शिक्षालाई बजारको मागअनुसार सीपमूलक, प्राविधिक, सूचना प्रविधि र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउँदै रोजगारदाताले पनि नयाँ जनशक्तिलाई अवसर दिई दक्ष कर्मचारी उत्पादनमा लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले गण्डकी प्रदेशका रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीच पुलको काम रोजगार मेलाले गरिरहेको बताउनुभयो ।
यता, रोजगारदाताहरूले दक्ष जनशक्ति अभाव अझै चुनौतीका रूपमा रहेको बताएका छन्। पोखरा नुडल्स प्रालिले मासिक ५० हजार रुपैयाँ तलबसहित रिसर्च एन्ड डेभलपमेन्ट पदका लागि कर्मचारी खोजे पनि आवश्यक योग्यता भएका उम्मेदवार फेला पार्न नसकेको जनाएको छ । आयोजकका अनुसार रोजगार मेलाले युवा जनशक्तिलाई उपयुक्त रोजगारीसँग जोड्नुका साथै उद्योग–व्यवसायले आवश्यक दक्ष जनशक्ति प्राप्त गर्ने वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ ।






