पोखरा महानगरद्वारा ६ युवा ‘पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३’ बाट सम्मानित

-


     पोखरा क्लिक     
     असार १८ गते २०८३ मा प्रकाशित


पोखरा, असार १८

युवा उद्यमशीलता, सीप विकास, नवप्रवर्द्धन, पत्रकारिता, खेलकुद, पर्यटन, समाज सेवा तथा अपाङ्गता सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने ६ जना युवालाई पोखरा महानगरपालिकाले ‘पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३’ प्रदान गरेको छ। नगर युवा परिषद्को आयोजनामा बिहीबार सम्पन्न यूथ फेस्टिभल २०८३ का अवसरमा महानगर प्रमुख धनराज आचार्यले सम्मानित व्यक्तिहरूलाई दोसल्ला ओढाएर जनही ३० हजार रुपैयाँ नगदसहित अवार्ड प्रदान गर्नुभयो।

यस वर्ष पत्रकारिता क्षेत्रमा दुर्गा राना मगर, पर्यटन तथा युवा उद्यमशीलतामा प्रतीकराज पहारी, समाज सेवामा सुदीश पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन तथा रोजगारी क्षेत्रमा नवज्योति सुवेदी, खेलकुद क्षेत्रमा नारायणी भण्डारी तथा अपाङ्गता सशक्तीकरण क्षेत्रमा सन्ध्या सुवेदी सम्मानित हुनुभएको हो। कार्यक्रममा बोल्दै महानगर प्रमुख आचार्यले सम्मानित युवाहरूले आ–आफ्नो क्षेत्रमा गरेको योगदानले पोखराको पहिचान उकास्नुका साथै नेपालमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश नयाँ पुस्तामा प्रवाह गरेको बताउनुभयो। उहाँले युवाको सिर्जनशीलता, नेतृत्व र सकारात्मक पहललाई महानगरले निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले युवाको उत्कृष्ट कार्यको सम्मान गर्न पाउनु परिषद्का लागि गर्वको विषय भएको बताउँदै परिषद्ले हालसम्म ७ हजारभन्दा बढी युवालाई विभिन्न सीपमूलक तालिम, उद्यमशीलता, रोजगारी तथा सशक्तीकरणका कार्यक्रममा आबद्ध गरिसकेको जानकारी दिनुभयो।

प्रतिभा छनोट समिति संयोजक प्रा.डा. भीमनाथ बरालले छोटो समयमै विभिन्न क्षेत्रका उदाहरणीय युवाको खोजी गरी केहीको कार्यस्थलमै पुगेर समेत मूल्याङ्कन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार समितिमा तेज गुरुङ, मनोहर कडरिया, केशवशरण लामिछाने, अन्जु केसी र विक्रम कर्माचार्य सदस्य रहनुभएको थियो। पोखरा महानगरपालिकाले ३५ वर्षमुनिका युवाको योगदानको कदर गर्दै प्रत्येक वर्ष विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने युवालाई सम्मान गर्दै आएको छ। महानगरले यस्ता पुरस्कारमार्फत युवा प्रतिभाको पहिचान, प्रोत्साहन र समाजमा सकारात्मक परिवर्तनका अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।