
पोखरा, १३ असार,
रातो बङ्गला फाउन्डेसन, ललितपुको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा ‘गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन र कसरी रु’ विषयक दुई दिने प्रादेशिक सम्मेलन पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आज (शनिवार) सम्पन्न भएको छ ।
सम्मेलनका साझेदार संस्थाहरुमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखरा महानगरपालिका, कुमुदिनी होम्स र रातो बङ्गला स्कुल ललितपुर रहेका थिए । दोस्रो दिन पनि विभिन्न कक्षहरूमा छुट्टाछुट्टै कार्यशाला सम्पन्न भएका थिए। प्लेनरी चरणमा रातो बङ्गला फाउन्डेसनका अध्यक्ष शान्ता दीक्षितले व्यक्तिको समग्र विकासको लागि आधारभूत बुझाइ शीर्षकमा प्रशिक्षित गरेकी थिइन् ।बालबालिकालाई पढेर सुनाउने शीर्षकमा निभा मानन्धरले सहभागीहरूलाई अभ्याससहित प्रशिक्षित गराएकी थिइन्।
सामाजिक तथा भावनात्मक सिकाइलाई दैनिक जीवनमा कसरी एकीकृत गर्ने विषयमा जेनी मानन्धरले सहजिकरण गरेकी थिइन्। अत्याश्यक बालकेन्द्रित अभ्यासहरू शीर्षकमा प्रारम्भिक बालविकास विज्ञ कल्पना पराजुली र फाउन्डेसनका प्रशिक्षक सञ्जु शर्माले प्रशिक्षित गराएका थिए। फाउन्डेसनका प्रमुख प्रशिक्षक मिदेश महर्जनले साक्षरता तथा सङ्ख्यात्मक सिप विषयमा केन्द्रित भएर शिक्षकहरूलाई प्रशिक्षण गरेका थिए । बन्दना उप्रेती र भावना सुवेदीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावकत्व विषयमा केन्द्रित भएर प्रशिक्षित गराएका थिए ।
रातो बङ्गला फाउन्डेसनकी अध्यक्ष तथा स्कुलकी निर्देशक शान्ता दीक्षितले बालबालिकाको समग्र विकासका लागि गुणस्तरीय प्रारम्भिक बालशिक्षाको महत्त्व र यसको सही कार्यान्वयनको आवश्यकता बढ्दै गएको कुरामा जोड दिइन्।
समापन समारोहलाई सम्बोधन गर्दै कुमुदिनी होम्स माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले निजी विद्यालय र सामुदायिक विद्यालय दुवैले देशको शैक्षिक स्तर उकास्नकै लागि काम गरिरहेकाले कसैले पनि विभेदपूर्ण व्यवहार गर्न नहुने कुरामा जोड दिए।
दुई दिनको सम्मेलनमा गण्डकी प्रदेशका एघार वटै जिल्लाबाट शित्क्षकहरूको सहभागिता रहेको थियो । तीन सय पचासभन्दा बढि शिक्षकहरुको सहभागिता रहेको थियो । हरेक वर्ष एउटा प्रदेशमा सम्मेलन गरिँदै जाने कुरा फाउन्डेसले जनाएको छ ।





