पोखराको फिष्टेल ड्रिम पार्कमा थपियो साहसिक खेल ‘स्विङ’ (भिडियो सहित) सबै सिजनमा पर्यटक आकर्षण

-


     पोखरा क्लिक     
     असार १३ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १३ असार,

पोखरामा विगत ५ बर्षदेखि पर्यटकीय आकर्षणका रूपमा स्थापित फिष्टेल ड्रिम पार्कले यस बर्ष साहसिक खेल ‘स्विङ’ (पिङ) सञ्चालनमा ल्याएको छ । हरेक वर्ष जसो केही न केही नयाँ मनोरञ्जनात्मक गतिविधि थप्दै आएको पार्कले यसपटक युवापुस्ता तथा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै स्विङ सञ्चालनमा ल्याएको कम्पनीले पोखराक्लिकलाई जनाएको छ ।

पार्कमा सञ्चालनमा आएका जायन्ट स्विङ, डिलक्स स्विङ, इलेक्ट्रिक स्विङ र बेबी स्विङ ले साहसिक खेलप्रेमीका लागि नयाँ अनुभव प्रदान गर्ने कम्पनीका निर्देशक कमल बस्नेतले बताउनु भयो । यसैबिच, राष्ट्रिय परोपकार महासंघका संस्थापक अध्यक्ष एवं भागवत भाष्कर कमलनयन गौतमले उक्त स्विङको आज (शनिबार) एक समरोहका बिच उद्घाटन गर्दै नेपालमा परम्परागत रूपमा दशैंमा मात्रै पिङ खेल्ने चलन रहेको स्मरण गर्दै अब आधुनिक साहसिक खेलका रूपमा वर्षभरि स्विङ खेल्न सकिने अवस्था सिर्जना भएको बताउनु भयो । उनका अनुसार यस्तो गतिविधिले युवापुस्तामा साहसिक खेलप्रति रुचि बढाउनुका साथै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुग्नेछ । “प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरामा फिष्टेल ड्रिम पार्कले नयाँ आकर्षण थपेको छ । विशेषगरी सेती नदीको बन्जीसँगै स्विङ सञ्चालनमा आउनुले पोखराको पर्यटनमा थप आयाम थपिएको छ,“ उहाँले भन्नुभयो ।

कम्पनीका जनरल म्यानेजर अङ्कित कुमार सिंहका अनुसार जायन्ट स्विङमा एक जनाका लागि ७०० रुपैयाँ, दुई जनाका लागि १,२०० रुपैयाँ र तीन जनाका लागि १,५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । डिलक्स स्विङमा एक जनाका लागि ३०० रुपैयाँ र दुई जनाका लागि ५०० रुपैयाँ लाग्नेछ। त्यस्तै, इलेक्ट्रिक स्विङको शुल्क ३०० रुपैयाँ र बेबी स्विङमा एक जनाको २ सय र २ जनाको ३०० रुपैयाँ शुल्क तोकिएको छ ।
कम्पनीले पाँचवटा नयाँ स्विङ स्थापना गर्न करिब १ करोड ५० लाख रुपैयाँ लगानी गरेको जनाएको छ । आयु इन्टरटेन्मेन्ट लिमिटेडले फिष्टेल ड्रिम पार्कको ३० लाख कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

मार्केटिङ म्यानेजर कृष्ण प्रसाद ढकालका अनुसार गर्मीयाममा सार्वजनिक बिदाका दिन पार्कमा एकै दिन करिब दुई हजारसम्म पर्यटक पानीजन्य खेल तथा स्विमिङका लागि आउने गरेका छन् । वर्षैभरि पर्यटक आकर्षित गर्ने उद्देश्यले यसपटक साहसिक स्विङ सञ्चालनमा ल्याइएको उहाँले बताउनु भयो । पार्कका निर्देशक डा.हिमाल भट्टराई, सञ्चालक मदन मुल्मी, रुकबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएको फिष्टेल ड्रिम पार्क नेपालकै ठूलो मनोरञ्जन पार्कमध्ये एक मानिन्छ । अत्याधुनिक प्रविधिसहित सञ्चालनमा रहेको पार्कमा वाटर पार्क, साहसिक खेल, पारिवारिक मनोरञ्जन तथा बालबालिकाका गतिविधिसहित १५ भन्दा बढी आकर्षक खेल सञ्चालनमा छन् ।

नयाँ स्विङ सञ्चालनसँगै फिष्टेल ड्रिम पार्कले पोखरा आउने पर्यटकका लागि मनोरञ्जन र साहसिक खेललाई एउटै गन्तव्यमा उपलब्ध गराउँदै आफ्नो आकर्षण थप सुदृढ बनाएको कम्पनीको विश्वास छ कक्षा ७ सम्मका विद्यार्थीले ६०० रुपैयाँमा खेलहरूको आनन्द लिन सक्छन् भने अन्यका लागि १ हजार रुपैयाँमा सबै खेलहरू एक दिनभरि वाटर गेम प्रयोग गर्न पाइन्छ ।