
१० असार, पोखरा,
पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा जारी छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा छात्रतर्फ जनप्रिय मावि र कालिका मावि तथा छात्रातर्फ कालिका मावि र बाराही मावि उपाधिका लागि भिड्ने भएका छन् ।
किडासा फाउण्डेशन र एमसिसीको सहयोगमा भएको प्रतियोगिता अन्तर्गत बुधबार पोखरा रङ्गशालामा भएको छात्रतर्फको सेमिफाइनल खेलमा जनप्रिय माविले त्रिभुवन माविलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टस हारेर ब्याटिङ गरेको जनप्रियले पुरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ३६ रनको योगफल तयार पारेको थियो । जनप्रियको पारीमा मौसम भट्टराईले २९ रन तथा समिर भट्टराईले २४ रन बनाए । त्रिभुवनका बलरहरू आयुष पाण्डेले ३ तथा सुबोध कँडेलले १ विकेट लिए । जितका लागि १ सय ३७ रनको लक्ष्य पछाएको त्रिभुवनको पारी १९ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९६ रनमा समेटियो । त्रिभुवनका ब्याट्सम्यानहरू क्षितिज पण्डितले २६ तथा अनिश पौडेलले १७ रन जोडे । जनप्रियका बलरहरू समिर कुँवरले र कृष्ण ढकालले समान ३ विकेट लिए । ब्याटिङमा २४ रन बनाएका जनप्रियका समिर कुँवर प्लेयर अफ द म्याच बने ।
अर्को सेमिफाइनलमा नवप्रभात माविलाई २० रनले पराजित गर्दै कालिका माविले फाइनलमा स्थान सुरक्षित बनाएको हो । टस जितेर ब्याटिङ रोजेको कालिकाले ७ विकेट गुमाएर १ सय १८ रन जोडेको थियो । कालिकाको तर्फबाट सुमिन घर्तीले २३ तथा राज परियारले १९ रन जोडे । नवप्रभातका बलर अनिस राउतले २ तथा निरज दासले १ विकेट लिए । प्रत्युउत्तरमा नवप्रभातको पारी ९८ रनमै समेटिएको थियो । नवप्रभातका अनिश राउतले ३५, निरज दासले १७ रन जोडे । कालिकाका बलरहरू आर्यन गुरुङले ३, राज परियारले २ तथा प्लेयर अफ द म्याच बनेका सुमिन घर्तीले एक विकेट लिए । प्रतियोगिताको फाइनल खेल बिहीबार पोखरा रंगशालामा हुने आयोजन समितिका अध्यक्ष बविन कुँवरले जानकारी दिए ।





