रूपा गाउँपालिकाको बजेट १४ प्रतिशतले बढ्यो, ५५ करोड ३८ लाखको बजेट, नीति तथा कार्यक्रम एकै दिन सार्वजनिक (भिडियो)

-


     पोखरा क्लिक     
     असार ९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ९ असार,

कास्कीको रूपा गाउँपालिकाको आउँदो आर्थिक बर्ष ०८३÷०८४ का लागि बजेट बढेको छ । गाउँपालिकाको २० औँ गाउँसभामा उपाध्यक्ष लालसुब्बा गुरुङले आज (मंगलबार) पालिकामा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै चालु आ.व.को तुलनामा १४ प्रतिशतले बृद्धि भएको बताउनु भएको हो ।

रुपा गाउँपालिकाको आर्थिक वर्ष २०८३÷०८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ ४१ करोड ८२ लाख ३० हजार रुपैयाँ र पुँजीगततर्फ १३ करोड ५५ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको उहाँले जनाउनु भयो । गाउँपालिकाले स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन, सेवा प्रवाहमा सुधार तथा पूर्वाधार विकासलाई बजेटको मुख्य उद्देश्य बनाएको उपाध्यक्ष गुरुङले जनाउनु भयो । कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा पर्यटनलाई प्राथमिकतामा राखिएको जनाउदै उहाँले कृषि तथा आर्थिक विकासतर्फ ४ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख गर्नु भयो ।

कृषि क्षेत्रका लागि मात्रै २ करोड ५ लाख रुपैयाँ छुट्याइएको भने व्यावसायिक खेती, मौरीपालन, किसान एप सञ्चालन, कृषि एम्बुलेन्स, कृषि प्रसार सेवा तथा रैथाने बाली संरक्षण कार्यक्रमलाई प्राथमिकता दिइएको छ । पशुसेवा क्षेत्रका लागि ७८ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको बजेटमा उल्लेख गरिएको छ । स्वास्थ्यतर्फ ३ करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ । निःशुल्क स्वास्थ्य परीक्षण, विशेषज्ञसहित स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर परीक्षण, स्वास्थ्य बीमामा अपाङ्गता भएका व्यक्तिलाई सहुलियत तथा एक वडा एक एम्बुलेन्स सेवाजस्ता कार्यक्रम सञ्चालन गरिने भएको पालिकाले जनाएको छ ।

शिक्षा क्षेत्रका लागि १५ करोड २४ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार, नमुना विद्यालय सञ्चालन, शिक्षक क्षमता विकास, प्राविधिक शिक्षाको विस्तार तथा छात्रवृत्ति कार्यक्रमलाई बजेटले समेटेको छ । सामाजिक विकासतर्फ १९ करोड ४३ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ । ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा पछाडि परेका समुदायको सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । “रूपाकी छोरी” कार्यक्रमका लागि ७ लाख रुपैयाँ छुट्याइएको छ ।
पूर्वाधार विकासतर्फ ११ करोड १८ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको छ । वडा नं. १ र २ जोड्ने शिवचण्डी मोटरबाटो कालोपत्रेका लागि २ करोड रुपैयाँ, स्याक्लुङकोट–रामकोट–काउनेपोखरी–राम्दी सडकका लागि २ करोड १० लाख रुपैयाँ तथा फेदी–राम्दी–माउँडाँडा–फैचोक सडकका लागि १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिका प्रशासकीय भवनको फिनिसिङ तथा कम्पाउन्ड निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ, व्यास नगरपालिकासँगको साझेदारीमा बिमलादेवी खोलामा पुल निर्माणका लागि ५० लाख रुपैयाँ र वडा नं. ५ र ६ जोड्ने आपुँखोलामा बेलिब्रिज जडानका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ । पर्यटन प्रवद्र्धनका लागि रोयल ट्रेक, जालादेवी क्षेत्र, होमस्टे विकास तथा पर्यटकीय पूर्वाधार विस्तारका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, विपद् व्यवस्थापन, वन्यजन्तु नियन्त्रण तथा खानेपानी सुधारका कार्यक्रमलाई समेत बजेटले प्राथमिकता दिएको छ ।

बजेट कार्यान्वयनका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त, समपूरक तथा विशेष अनुदानमार्फत प्राप्त हुने रकम मुख्य स्रोतका रूपमा रहनेछ । गाउँपालिकाले आन्तरिक स्रोतबाट १ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । उपाध्यक्ष गुरुङले सीमित स्रोत–साधनका बीच स्थानीय आवश्यकता सम्बोधन गर्ने प्रयास गरिएको बताउँदै बजेटले “रूपाको पहिचान ः सबै क्षेत्रमा समृद्धिको अभियान” लाई सार्थक बनाउने विश्वास व्यक्त गर्नु भयो । मंगलबार पालिका अध्यक्ष नवराज ओझाले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुतः गर्नु भएको छ । बादरबाट समस्या भएको हुदा त्यसको विकल्पमा मसाला उत्पादन पर्ने योजना अघि सारिएको अध्यक्ष ओझाले जनाउनु भयो । रुपा गाउँपालिकाको आफ्नै प्रशासनिक भवन हालै निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत अन्तराज न्यौपानेले बताउनु भयो । करिब १० करोड ८७ लाखको लागतमा उक्त भवन निर्माण गरिएको उहाँले जनाउनु भयो । पालिकाले ४ हजार ५ सय रोपनी क्षेत्रफलमा मसलाजन्यवाली विस्तार गर्ने योजना अघि सारेको सूचना अधिकारी लोकनाथ पौडेलले बताउनु भयो ।