
लेखनाथ, ४ असार,
वि.सं. २०५८ सालमा स्थापना भएको लेखनाथ खानेपानी उपभोक्ता संस्था आफ्नो स्थापनाको २५औँ वर्षमा प्रवेश गरेको छ। संस्थाले विगत दुई दशकभन्दा बढी समयदेखि लेखनाथ क्षेत्रका नागरिकलाई नियमित तथा गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ। हाल संस्थाले १७ हजार ८ सय ११ वटा धारामार्फत करिब ९९ हजार ४ सय जनसंख्यालाई खानेपानी वितरण गरिरहेको जनाएको छ।
स्थापनाको रजत जयन्तीका अवसरमा संस्थाले बिहीबार विशेष कार्यक्रम आयोजना गरी रजत जयन्ती समारोह, २१औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न गरेको हो। कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि, खानेपानी क्षेत्रका विज्ञ, उपभोक्ता तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खानेपानी व्यवस्थापन र मुहान संरक्षण वर्तमान समयका सबैभन्दा महत्वपूर्ण चुनौतीमध्ये एक भएको बताए। उनले बढ्दो शहरीकरण, जनसंख्या वृद्धि तथा वातावरणीय परिवर्तनका कारण प्राकृतिक स्रोतहरूमा दबाब बढ्दै गएको उल्लेख गर्दै खानेपानीका स्रोतहरूको दीर्घकालीन संरक्षणमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताए।
प्रमुख आचार्यले लेखनाथ खानेपानी उपभोक्ता संस्थाले उपभोक्ताको सहभागितामार्फत नमूना कार्य गरेको उल्लेख गर्दै सरकारले गर्नुपर्ने सेवा उपभोक्ताको सक्रियतामा सफलतापूर्वक सञ्चालन हुनु गौरवको विषय भएको बताए। उनले भने, “उपभोक्ताले आफ्नै संस्था निर्माण गरी खानेपानी जस्तो आधारभूत आवश्यकताको व्यवस्थापन गर्नु निकै सकारात्मक अभ्यास हो। यसले स्थानीय स्तरमा सुशासन, उत्तरदायित्व र स्वामित्वको भावना विकास गरेको छ।” उनले पोखरा महानगरपालिकाले विगतदेखि संस्थालाई आवश्यक सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि आवश्यक सहकार्य र सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे। साथै गिउजे खोलास्थित मुख्य मुहान क्षेत्रमा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा पुगेको क्षतिको स्थलगत अध्ययन गरी दीर्घकालीन समाधानका लागि वैकल्पिक योजना खोज्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा खानेपानी उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले उपभोक्ता समितिहरूलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन सरकारी निकायको महत्त्वपूर्ण भूमिका रहने बताए। उनले नेतृत्वमा रहेका व्यक्तिहरूले कागज र प्रतिवेदनमा मात्र होइन, व्यवहारिक रूपमा जनताको बीचमा पुगेर काम गर्नुपर्ने धारणा राखे। उनले खानेपानी जस्तो अत्यावश्यक सेवामा उपभोक्ता समितिमार्फत वितरण गरिएको पानीमा २५ प्रतिशत आयकर लगाउनु व्यवहारिक नभएको बताए। उपभोक्ताको हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले खानेपानी संस्थाहरूलाई सेवा प्रदायक सामाजिक संस्थाका रूपमा हेर्नुपर्ने बताए।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाका संस्थापक अध्यक्ष शालिकग्राम पौडेलले संस्थाको स्थापना र विकासक्रमबारे जानकारी गराउँदै सुरुआती चरणमा विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको स्मरण गरे। उनले लेखनाथ क्षेत्रका नागरिकलाई सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले वि.सं. २०६१ सालमा निर्माण कार्य सुरु गरिएको र निरन्तर प्रयासपछि वि.सं. २०६५ सालदेखि नियमित रूपमा खानेपानी वितरण सुरु भएको बताए। उनका अनुसार संस्थाको निर्माण र विस्तारमा स्थानीयवासी, उपभोक्ता, विभिन्न संघसंस्था तथा सरकारी निकायको महत्वपूर्ण सहयोग रहेको थियो। “सामूहिक प्रयास, धैर्य र प्रतिबद्धताले आज संस्थालाई यहाँसम्म पु¥याएको हो,” उनले भने। मादी गाउँपालिका–७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङले लेखनाथ खानेपानीको मुख्य मुहान आफ्नो वडामा रहेको जानकारी दिँदै मुहान संरक्षण र व्यवस्थापनका विषयमा दुवै पक्षबीच राम्रो समझदारी रहेको बताए। उनले प्राकृतिक स्रोत संरक्षणमा स्थानीय सरकार सदैव प्रतिबद्ध रहेको र संस्थाको आवश्यकताअनुसार सहयोग उपलब्ध गराइने बताए।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली, पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापा, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख पदमबहादुर कुँवर, संस्थाका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, निवर्तमान अध्यक्ष विष्णुप्रसाद बराल, उपभोक्ताका प्रतिनिधि शरण प्रधान तथा प्रमिला बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले संस्थाले छोटो अवधिमा उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै आगामी दिनमा सेवा विस्तार, स्रोत संरक्षण, प्रविधिमैत्री व्यवस्थापन तथा गुणस्तरीय सेवा प्रवाहमा थप ध्यान दिनुपर्ने सुझाव दिएका थिए। कार्यक्रममा संस्थाका अध्यक्ष मुरारी शर्माले वार्षिक प्रतिवेदन तथा भावी योजनाबारे जानकारी गराउँदै खानेपानी क्षेत्रलाई राजनीतिक प्रभावभन्दा माथि राखेर सेवा केन्द्रित नेतृत्व विकास गर्नुपर्ने धारणा व्यक्त गरे। उनले खानेपानी संस्थामा राजनीतिक दलका कार्यकर्ताको रूपमा नभई खानेपानी व्यवस्थापनको ज्ञान, अनुभव र प्रतिबद्धता भएका व्यक्तिहरू नेतृत्वमा आउनुपर्ने बताए। उनले संस्थाले आगामी दिनमा खानेपानीको गुणस्तर सुधार, वितरण प्रणालीको आधुनिकीकरण, मुहान संरक्षण, सेवा विस्तार तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा विशेष योजना अघि बढाउने जानकारी दिए।
अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकी सचिव नारायणी भट्टराई ‘रक्षा’ले गरेकी थिइन् भने धन्यवाद ज्ञापन उपाध्यक्ष पुष्पकमल ढुङ्गानाले गरेका थिए। यसैबीच शुक्रबार हुने छैटौँ अधिवेशनले संस्थाको आगामी कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ। संस्थाको रजत जयन्ती समारोहले विगत २५ वर्षको उपलब्धिको समीक्षा गर्दै आगामी यात्राका लागि नयाँ ऊर्जा र दिशानिर्देश प्रदान गरेको सहभागीहरूले बताएका छन्।






