फेवातालमा सेल्फी ब्रिज, रुपातालमा सिसाको पुल बनाउने योजना, फेवा सौन्दर्यीकरणमा ५ करोड

-


     पोखरा क्लिक     
     असार १ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, असार १

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत प्रदेश राजधानी पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल र रुपाताललाई थप आकर्षक बनाउने योजना अघि सारेको छ। पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै सरकारले फेवातालमा ‘सेल्फी ब्रिज’ र रुपातालमा ‘सिसाको पुल’ निर्माण प्रक्रिया अगाडि बढाउने घोषणा गरेको हो।

आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा “राउण्ड फेवा, भ्यू फेवा” कार्यक्रमलाई निरन्तरता दिँदै फेवा होराइजन पेडेस्ट्रियन ब्रिज (सेल्फी ब्रिज) तथा रुपातालमा सिसाको पुल निर्माण कार्य अगाडि बढाइने उल्लेख गरेका हुन् । यद्यपि, यी दुवै परियोजनाका लागि छुट्टै बजेट रकम भने बजेट वक्तव्यमा खुलाइएको छैन। प्रदेश सरकारले फेवातालको सौन्दर्य र पर्यटन आकर्षण बढाउने उद्देश्यले पोखरा महानगरपालिकासँगको साझेदारीमा तालको मध्यवर्ती क्षेत्र सौन्दर्यीकरणका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम ताल वरपरको पर्यटकीय वातावरण सुधार, सार्वजनिक संरचना व्यवस्थापन तथा पर्यटकमैत्री पूर्वाधार निर्माणमा खर्च गरिने अपेक्षा गरिएको छ।

फेवाताल पोखराको प्रमुख पर्यटकीय चिनारीका रूपमा रहेको छ भने रुपाताल पछिल्ला वर्षहरूमा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको क्षेत्र हो। प्रदेश सरकारले यी दुवै ताल क्षेत्रमा नयाँ आकर्षण थप्ने योजनासहित पूर्वाधार विस्तारमा जोड दिएको हो। बजेटले पोखरालाई साहसिक, मनोरञ्जनात्मक र आधुनिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको देखिन्छ। उक्त सेल्फि पुल निर्माण भएपछि पर्यटकलाई तालमाथिबाट फेवाको दृश्यावलोकन गर्ने नयाँ अनुभव प्राप्त हुने अपेक्षा गरिएको छ।

पर्यटन प्रवर्द्धनका लागि सरकारले यसअघि सञ्चालन गर्दै आएको “पहिला घरदेश, अनि परदेश” र “लेक टु लेक” कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। यी कार्यक्रममार्फत आन्तरिक पर्यटन प्रवर्द्धन, ताल केन्द्रित पर्यटन सञ्जाल विस्तार तथा स्थानीय संस्कृति र उत्पादनलाई पर्यटनसँग जोड्ने लक्ष्य राखिएको छ। तर ती कार्यक्रमका लागि छुट्याइएको बजेट रकम भने सार्वजनिक गरिएको छैन । प्रदेश सरकारले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउँदै प्रमुख गन्तव्यमा पूर्वाधार विस्तार, पदमार्ग स्तरोन्नति, धार्मिक तथा साहसिक पर्यटन विकास र नयाँ पर्यटकीय आकर्षण निर्माणलाई प्राथमिकतामा राखेको पोखराक्लिकलाई जनाएको छ।

पोखरा पर्यटनको राजधानि घोषणा भएको २ बर्ष २ महिना भन्दा बढी दिन वितिसक्दा पनि पोखरामा आएका पर्यटकहरुको तथ्याङक अध्यावधिक हुन सकेको छैन । प्रदेश सरकारले भने प्रदेशमा दोब्बर पर्यटक भित्राउने उल्लेख गरेको छ तर सरकारसंगै त्यसको कुनै लेखाजोखा छैन हचुवाको भरमा दोब्बर पर्यटक भित्राउने भनिएको छ । यस बिषयलाई भने नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले प्रदेशमा करिब ८ लाख विदेशी पाहुना भित्रिएको दाबी गर्छन ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र सन् २०२५ मा ५ लाख १४ हजार विदेशी पाहुना भित्रिएको र ती बाहेक पोखरा सहर घुमेर मात्र फर्किने विदेशीको संख्या पनि पर्याप्त हुने हुँदा वर्षमा कम्तिमा ८ लाख विदेशी पाहुना भित्रिएको अनुमान गर्न सकिने प्रमुख लामिछानेले दाबी गरे । हिजोआज पोखरा क्षेत्रमा भारतीय पर्यटकको निकै चहल पहल भएको उनले बताए । भारतीय पर्यटकहरुको अत्याधिक भिड भएकोले गर्दा यस बर्ष करिब १० लाख पर्यटक भित्रिन सक्ने लामिछानेले विश्वास व्यक्त गरे । तष्विर एआईजेनेरेट