पोखरा क्लिकका सम्पादक दीननाथ बराललाई वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड

-


     पोखरा क्लिक     
     वैशाख २४ गते २०८३ मा प्रकाशित


पोखरा २४, वैशाख,

पोखरा क्लिक डटकमका प्रकाशक तथा सम्पादक दीननाथ बराल यस वर्षको वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरामा आयोजना गर्ने १० औँ संस्करणको रारा पोखरा स्पोट्र्स अवार्डको अवसरमा पोखरा २२ का बराललाई उक्त अवार्ड प्रदान गर्ने भएको मञ्चले जनाएको छ ।

मञ्चको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा २४ बर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय बराललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको मञ्चका अध्यक्ष यामबी आस्था मगरले बताए । पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औँ रारा पोखरा स्पोट्र्स अवार्ड कार्यक्रमको अवसरमा बराललाई उक्त पुरस्कारको साथमा अवार्ड सहित नगद ३५ हजार रुपैयाँ प्रदान गरिने भएको मञ्चका महासचिव परशुराम शर्माले बताए । मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेको संयोजकत्वमा गठन भएको प्रतिभा छनौट समितिको सदस्यमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, महासंघ कास्कीका अध्यक्ष माधव बराल, पूर्व सम्मानितको तर्फबाट विजय नेपाल, मञ्चका अध्यक्ष यामबी आस्था मगर र महासचिव परशुराम शर्मा रहनु भएको थियो । प्रतिभा छनौट समितिले दिएको सिफारिसलाई मञ्चको बैठकले अनुमोदन गरेसंगै मञ्चले विहिबार सार्वजनिक गरेको हो ।
२०५९ सालदेखि निरन्तर पत्रकारितामा सक्रिय बराल हाल कास्की सहित गण्डकी प्रदेशमा कार्यरत छन् । पोखरा क्लिक सहित बराल कारोवार राष्ट्रिय दैनिक, रेडियो नेपाल, पोखरापत्रमा आबद्ध उनले आफ्नो पत्रकारिता यात्रामा खेलकुद, आर्थिक, पर्यटन तथा खोज पत्रकारितामा विशेष रुचि राख्दै आएका छन् ।

उनले आफ्नो करिअरमा विभिन्न राष्ट्रिय तथा स्थानीय सम्मानहरू प्राप्त गरे । बरालले गोर्खा बराह पत्रकारिता प्रोत्साहन पुरस्कार (गोल्ड मेडल—२०७५), शुभम सहकारी पत्रकारिता सम्मान (२०७६), सहारा खेलकुद पत्रकार पुरस्कार २०६८, साविक जिल्ला विकास समितिबाट उत्कृष्ट पत्रकार सम्मान, जिल्ला खेलकुद विकास समितिबाट उत्कृष्ट पत्रकार पुरस्कार, रत्न ज्योति माविबाट बाल प्रतिभा सम्मान, लायन्स क्लव पोखरा सेती गण्डकी उत्कृष्ट पत्रकार सम्मान (२०७४), सार्वजनिक यातायात समन्वय पत्रकारिता सम्मान, रेडियो अन्नपूर्णको बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार (२०७२), नेपाल पत्रकार महासंघ कास्कीबाट २०७९ मा आर्थिक पत्रकारिता पुरस्कार (नगद २०,०००), नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट गण्डकी प्रदेश स्तरिय प्रोत्साहन पुरस्कार २०८२ (नगद २५,०००) लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । पोखरा प्रबद्र्धन केन्द्रको अध्यक्ष, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी निवर्तमान अध्यक्ष, पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य, गण्डकी बक्सिङ संघका सदस्य लगायतमा आबद्ध बराल पोखरा क्लिकमा आबद्ध छन् ।

सञ्चार दपर्ण साप्ताहिक (२०५९), जनमन्थन साप्ताहिक, आर्थिक अभियान दैनिक, पोखरा हट्लाइन दैनिक, जनमत दैनिक, हिमाल खबरपत्रिका, पोखरा न्यूज डटकम, फेवा टिभी, ग्लासिफाइड साप्ताहिक, रेडियो अन्नपूर्ण (१७ बर्ष), रेडियो तनहुँ, रेडियो स्याङजा, प्राप्ती त्रैमासिक, वर्तमान सहकारी आवाज लगायतका संस्थामा काम गरेको अनुभव सम्हालेका बराल पाकिस्तान, भारत, थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया, सिंगापुर,दुबइ र चाइना सहित ८ देश भ्रमण गरेका छन् ।

यसअघि उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार(अवार्ड) बाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार, सागरराज तिमिल्सिना, रोहितराज पराजुली र विजय नेपाल सम्मानित भई सकेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष खेलकुद क्षेत्रमा सक्रिय पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त पुरस्कार (अवार्ड) प्रदान गर्दै आएको छ ।