पर्यटकीय गाँउ ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण हुने

-


     पोखरा क्लिक     
     वैशाख २३ गते २०८३ मा प्रकाशित


पोखरा २३, वैशाख,

कास्कीको पर्यटकीय गाउँ ल्वाङमा यही वैशाख २५गते(शुक्रबार) देखि आयोजना ‘सिनेमा संवाद’को चौथो संस्करण हुने भएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा यही बैशाख २६ गते सम्म संचालन हुने उत्तः कार्यक्रमको तयारी पूरा भएको संघ कास्कीका अध्यक्ष सन्तोष बस्यालले बताउनु भयो ।

नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा स्थानीय तहसँगको सहकार्यका विविध आयाममा गहन छलफल गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना हुन लागेको उहाँले जनाउनु भयो । यसअघि घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा सम्पन्न भइसकेको उक्त कार्यक्रमको चौथो श्रृंखला ल्वाङमा हुन लागेको हो । उक्त कार्यक्रम चलचित्रकर्मी, पत्रकार र सरोकारवालाबीच अर्थपूर्ण संवादको वातावरण सिर्जना गर्दै समसामयिक विषयमा अनुभव आदान–प्रदान तथा सिर्जनात्मक बहस हुने भएको संघले जनाएको छ । यसपटक ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ जस्ता विषयमा बहस हुने भएको छ । ‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा नायिका आचल शर्मा, नायक सलोन बस्नेत र नायिका सनिशा भट्टराई वक्ताका रूपमा रहनेछन् भने सहजीकरण चलचित्र पत्रकार उत्सव रसाइलीले गर्नु हुने भएको छ ।

‘सिनेमामा द्वन्द’ विषयमा नायक निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डितले धारणा राख्नु हुने भएको छ । ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’मा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, लेखक–निर्माता सामिप्य तिमिल्सिना र नायिका बेनिशा हमाल वक्ताका रुपमा सहभागी हुनेछन् । ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’मा प्रकाश सुवेदी, इस्टु कार्की र महेश भण्डारी वक्ताका रूपमा रहनु हुने भएको छ । कार्यक्रमलाई टिभिएसले टाइटल स्पोन्सरको रूपमा साथ दिएको छ भने मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, रानीपौवा पोखरा इन एसोसिएसनमा रहेको छ । एक्सट्रिम इनर्जी ड्रिंक्स पावर बाईमा रहेको छ । यसैगरी प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश, चलचित्र विकास बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, लगायतका संस्थाहरूको सहयोग रहेको आयोजकले जनाएको छ । कार्यक्रम विभाग प्रमुख तथा संयोजक राकेश गुरुङका अनुसार बैशाख २५ गते साँझ ‘सिनेमा साँझ’ विशेष कार्यक्रम अन्तर्गत चर्चित पोखरेली ब्याण्डको सांगीतिक प्रस्तुति रहनेछ, जहाँ नेपाली चलचित्रका लोकप्रिय गीतहरू प्रस्तुत गरिने सचिव सुरेश सुनारले बताउनु भयो ।