
दीननाथ बराल,
पोखरा १, वैशाख,
पर्यटकीय नगरी पोखराको महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डा पार्कमा पुनः झण्डा फेरिएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पार्कमा रहेका झण्डाहरू परिवर्तन गरिएको हो । यसअघि संविधान दिवस (असोज ३) को अवसरमा पनि झण्डा फेरिएको थियो । यसरी हेर्दा पोखरामा करिब ६ महिनाको अन्तरालमा पुनः झण्डा परिवर्तन गरिएको देखिन्छ ।
उक्त झण्डा पार्क २०८० फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर उद्घाटन गरिएको थियो । उद्घाटन भएको करिब २ वर्ष १ महिना २४ दिनपछि नयाँ वर्षको अवसरमा फेरि झण्डा परिवर्तन गरिएको हो। प्रारम्भिक चरणमै घामपानीका कारण झण्डाको रङ खुइलिन थालेपछि पटक–पटक झण्डा फेर्नुपर्ने अवस्था आएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनु भयो । अन्य झण्डा भन्दा नेपालको राष्ट्रिय झण्डा ठुलो बनाइएको छ । पोखराका मेयर आचार्यले मंगलबार झण्डोत्तोलन समेत गर्दै विश्वका अधिकांश देशका झण्डाले पोखरा आउने पर्यटकलाई आकर्षण गर्ने गरेको दाबी गर्नुभयो । पोखराका नागरिक समाजका अगुवा रामबहादुर पौडेलले सबैले सकरात्मक सोचले अघि बढ्नुपर्ने बताउदै नयाँ सरकारले केही आशा देखाएको जनाउनु भयो । महानगरका प्रवक्ता मोतिराज तिमिल्सनाले झण्डा पार्क पोखराको नयाँ पर्यटकीय गन्तव्य भएको बताउनु भयो । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले झण्डा पार्कले पोखराको पहिचान गराएकोले यसको उचित संरक्षण गर्नुपर्ने बताउनु भयो ।
लायन्स क्लब इन्टरनेशनलको करिब ७० लाख रुपैयाँ आर्थिक सहयोगमा पोखरा महानगरपालिका–९ मा निर्माण गरिएको उक्त पार्कमा संयुक्त राष्ट्रसंघमा आबद्ध १९३ देशसहित अन्य गरी १९७ झण्डा राखिएका छन्। विश्व शान्ति, भाइचारा र एकताको सन्देश दिने उद्देश्यसहित निर्माण गरिएको पार्कलाई महानगरले नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
तर, झण्डा पार्क निर्माणदेखि नै यसको दिगोपनाबारे प्रश्न उठ्दै आएका छन्। छोटो समयमै झण्डा बिग्रने र पटक–पटक फेर्नुपर्ने अवस्थाले आर्थिक भार बढ्ने चिन्ता व्यक्त गरिएको छ । साथै, पुस्तकालय भत्काएर पार्क निर्माण गरिएको विषयमा पनि स्थानीयस्तरमा आलोचना भएको थियो । ट्राफिक व्यवस्थापनमा समेत असर परेको भन्दै सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन्। व्यस्त सडक छेउमा राखिएको रङ्गीचङ्गी झण्डाले सवारी चालकको ध्यान विचलित पार्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ । यता महानगरले भने झण्डा पार्कलाई थप व्यवस्थित र आकर्षक बनाउँदै पर्यटकका लागि थप सुविधा विस्तार गर्ने योजना बनाइरहेको जनाएको छ । नयाँ वर्षको अवसरमा झण्डा फेरिएको यस घटनाले पार्कको संरक्षण, व्यवस्थापन र दीर्घकालीन योजनाबारे पुनः बहस सुरु भएको छ ।



