
सागर सुनार
पोखरा ९, चैत
जिल्ला खेलकुद विकास समिति कास्कीले १७ वर्षपछि ‘वर्ष उत्कृष्ट खेलाडी’ सम्मान कार्यक्रमलाई पुनः निरन्तरता दिने भएको छ। आज (सोमबार) सम्पन्न समितिको १२औँ बैठकले उक्त निर्णय गरेको समितिले जनाएको छ ।
समितिका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा बसेको बैठकले वर्ष खेलाडी छनोटका लागि सदस्य रामचन्द्र गिरीको संयोजकत्वमा छनोट समिति गठन गरेको छ। समितिको सदस्इ सचिवमा कार्यालय प्रमुख डिबी नेपाली, सदस्यहरू डिल्लीजंग गुरुङ, हिमाल गुरुङ, अशिम सुबेदी तथा खेलकुद पत्रकार मञ्चबाट एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
समितिका सचिव अञ्जु केसीका अनुसार वर्ष २०८२ का लागि एक पुरुष र एक महिला खेलाडीलाई नगदसहित सम्मान गरिनेछ। वर्ष उत्कृष्ट खेलाडी सम्मान कार्यक्रम २०८३ सालको वैशाख महिनाबाट सुरु गरिने र २०८२ सालभित्र उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई आधार मानेर छनोट गरिने जनाइएको छ । खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले २०६५ सालमा तत्कालीन अध्यक्ष दिलबहादुर गुरुङको नेतृत्वमा सुरु गरिएको यो कार्यक्रम विगत १७ वर्षदेखि स्थगित अवस्थामा थियो। पहिलो संस्करणमा फुटबलका अनिल गुरुङ र भलिबलकी मञ्जु गुरुङ सम्मानित भएका थिए ।
समितिका अध्यक्ष मिलन गुरुङले खेलाडीहरूको मनोबल उच्च राख्न तथा भावी खेलाडीहरूलाई प्रेरणा दिन यस्तो कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए। “खेलाडीहरूको प्रोत्साहन र नयाँ पुस्तालाई सपना देखाउन यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुन्छन्,” उनले भने, “अघिल्लो संस्करणको गरिमा नघट्ने गरी हामी सम्मान कार्यक्रमलाई अझ प्रभावकारी बनाउनेछौँ।” यसैबीच, लामो समयदेखि रिक्त रहेको कोषाध्यक्ष पदमा नवनियुक्त आशिक थापा क्षेत्रीलाई बैठकमा स्वागत गरिएको छ भने भलिबल खेलाडी प्रमिला अधिकारीलाई सदस्य पदमा मनोनयन गरिएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८२र०८३ मा कास्कीमा दर्ता भएका अधिकांश खेल संघहरूले साधारण सभा तथा नवीकरण नगरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरिएको छ। हालसम्म १८ वटा खेल संघहरूले मात्र नवीकरण गरेको जानकारी कार्यालय प्रमुख डिबी नेपालीले दिएका छन् । एन्फामा बढ्दो विवादका सन्दर्भमा प्रदेश खेलकुद परिषदको निर्देशनअनुसार जिल्ला फुटबल संघ कास्कीलाई आवश्यक ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ।



