
पोखरा, चैत ६,
पोखरामा १८डी सिनेमा सञ्चालनमा आएको छ। चैत ६ गतेदेखि फ्लाइ नेपाल इन्टरटेनमेन्टले यो नयाँ प्रविधियुक्त मनोरञ्जन सेवा सुरु गरेको हो। साहसिक गतिविधिका लागि परिचित पोखरामा यसले मनोरञ्जनको क्षेत्रमा नयाँ अनुभव थपेको छ। यो सिनेमा लेकसाइडस्थित डिज्नील्याण्ड क्षेत्रमा सञ्चालनमा ल्याइएको छ।
सिनेमाको उद्घाटन नेपाली चलचित्रका महानायक राजेश हमाल ले गर्नुभयो। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले पोखराले अब फरक शैलीको मनोरञ्जन अनुभव गर्न पाउने बताउनुभयो। उहाँका अनुसार, पोखरा प्राकृतिक रूपमा आकर्षक सहर मात्र नभई चलचित्र छायांकन र व्यवसायका लागि पनि उपयुक्त गन्तव्य हो, र यस्तो नयाँ प्रविधिले दर्शकलाई फरक संसारको अनुभूति दिलाउनेछ । फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौंमा सफलतापूर्वक सञ्चालनपछि दर्शकको सकारात्मक प्रतिक्रिया र मागलाई ध्यानमा राख्दै पोखरामा विस्तार गरिएको जानकारी दिनुभयो। उहाँले पोखराको सिनेमा प्रविधिका हिसाबले अझ उन्नत रहेको पनि बताउनुभयो।
यो सिनेमा १० देखि ३० मिनेटसम्मका रोमाञ्चक अनुभव प्रदान गर्नेछ, जसमा दर्शकले कुनै विशेष चश्मा वा हेडसेट बिना नै प्रत्यक्ष अनुभूति लिन सक्नेछन् । सबै उमेर समूहका लागि उपयुक्त मानिएको यसमा १७ वटा फरक–फरक कथामा आधारित अनुभव उपलब्ध हुने जनाइएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टका निर्देशक हिमाल थापाका अनुसार, अब पोखरामा साहसिकता केवल बाहिरी गतिविधिमा सीमित नरही सिनेमामार्फत भित्री अनुभूतिमा पनि विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।



