
पोखरा, ५ चैत,
चार वर्षपछि पोखरामा खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप पुनः सुरु भएको छ । तर, यसपटक अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी इरान र अमेरिकाबीचको तनावका कारण अपेक्षाभन्दा कम विदेशी खेलाडी सहभागी भएका छन् ।
पोखरा–१८ सराङकोटबाट उडान भरी फेवाताल किनारस्थित खपौदीमा अवतरण गर्ने “एक्युरेसी” विधामा २१औँ संस्करणको प्रतियोगिता आज ( बिहीबार) देखि सञ्चालनमा आएको हो । प्रतियोगितामा ५ देशका १० महिला सहित ६३ जना पाइलटले सहभागिता जनाएको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) ले पोखराक्लिकलाई जनाएको छ । यस अघि ७ देशका ९० खेलाडीहरु प्रतियोगितामा सहभागि हुने सार्वजनिक गरिएको थियो । यद्यपी इरान र अमेरिकाको युद्धका कारण यूरोपबाट धेरै खेलाडीहरुले अन्तिम समयमा सहभागि नहुने जनाएको नाले जनाएको छ ।
तीन दीन चल्ने प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विहिबार सराङकोटमा गर्नुहुदै प्याराग्लाइडिङलाई पोखराको प्रमुख पर्यटन आकर्षणका रूपमा रहेको दाबी गरे । यस्ता प्रतियोगिताले साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउदै उनले विशेषगरी चिनियाँ पर्यटकका लागि यो खेल आकर्षणको केन्द्र बन्दै गएको जनाए । कार्यक्रममा मिस नेपाल लुना लुइँटेलले पोखराको प्राकृतिक सौन्दर्यसँगै प्याराग्लाइडिङको अनुभव अविस्मरणीय हुने बताइन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पनि पोखराको आकाशमा हुने यस्ता गतिविधिले अन्तर्राष्ट्रिय साहसिक पर्यटक आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
प्राविधिक प्रमुख बिमल अधिकारीका अनुसार प्रतियोगितामा प्रत्येक खेलाडीले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन् । खपौदीमा अवतरण गर्दा लक्ष्य बिन्दु नजिक पुग्ने खेलाडी विजयी हुनेछन् । आयोजक हवाई खेलकुद संस्था ना का अध्यक्ष अनिल केसीले अन्तर्राष्ट्रिय परिस्थितिका कारण खेलाडी संख्या प्रभावित भए पनि प्रतियोगिता सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गरिने बताए । प्रतियोगितासँगै व्यावसायिक टेण्डम उडान पनि सञ्चालनमा ल्याइएको प्रतियोगिताका संयोजक सुनिल भट्टराईले जानकारी दिए । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले पोखरालाई अन्तर्राष्ट्रिय साहसिक खेल गन्तव्यका रूपमा थप स्थापित गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका लागि फेवाताल क्षेत्रमा मेडिकल सहित आवश्यक सुरक्षा व्यवस्था मिलाइएको सेफ्टी डाइरेक्टर योगेशबहादुर भट्टराईले पोखराक्लिकलाई बताए ।
नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित प्रतियोगितामा व्यक्तिगत र टिमतर्फ प्रतिस्पर्धा हुँदैछ । पुरुषतर्फ विजेताले १ लाख ५० हजार रुपैयाँ, द्वितीयले १ लाख र तृतीयले ५० हजार प्राप्त गर्नेछन् । टिमतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पाउनेछन् । महिला तर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने भएको ना का प्रथम उपाध्यक्ष खेमराज आचार्यले बताए । करिब ३० लाख रुपैयाँ लागतमा सञ्चालन भइरहेको प्रतियोगिताले पोखराको पर्यटन क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरिएको ना का महासचिव वलराम आचार्यले जनाए ।



