इरान–अमेरिका युद्धको प्रभाव पोखरामा पनिः प्याराग्लाइडिङ प्रतियोगितामा ३८ प्रतिशत खेलाडी प्रभावित

-


     पोखरा क्लिक     
     चैत्र ४ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ४ चैत,

इरान र अमेरिकाबीच बढ्दो युद्ध तनावले अन्तर्राष्ट्रिय हवाई उडानमा असर पार्दा पोखरामा आयोजना हुन लागेको २१औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप प्रत्यक्ष प्रभावित भएको छ । करिब एक सय जना खेलाडी सहभागि हुने अपेक्षा गरिएको प्रतियोगितामा अन्ततः ५ देशका ६२ जना मात्र सहभागी हुने भएका छन् ।

प्रारम्भमा ७ देशका करिब ९० जना पाइलट दर्ता भए पनि अन्ततः बुधबार साँझसम्म ५ देशका ६२ जना खेलाडीहरु मात्र प्रतियोगितामा सहभागि हुने भएको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) ले पोखराक्लिकलाई जनाएको छ । पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिका कारण करिब २५ जना खेलाडीले अन्तिम समयमा सहभागिता रद्द गरेको प्रतियोगिताका संयोजक सुनिल भट्टराईले बताउनु भयो । विशेषगरी युरोपियन खेलाडीहरू हवाई उडानको असहजताका कारण आउन नसक्ने जानकारी गराएको उहाँले जनाउनु भयो । यसरी हेर्दा उक्त प्रभावका कारण प्रतियोगितामा ३८ प्रतिशत जसो खेलाडीहरु प्रभावित भएको बताइन्छ ।

यद्यपि, यस्तो प्रतिकूल अवस्थाबीच पनि आयोजकले बुधबार अभ्यास सुरु गरेको प्रबिधिक प्रमुख बिमल अधिकारीले बताउनु भयो । अघिल्ला वर्षहरूमा प्रतियोगिता अवधिभर बन्द गरिने व्यवसायिक (टेण्डम) प्याराग्लाइडिङ यस वर्ष भने सञ्चालन हुने भएको उहाँले जनाउनु भयो । यसले प्रतियोगिता चलिरहँदा पनि पर्यटकलाई उडानको अवसर दिनेछ, जसले केही हदसम्म आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ । प्रतियोगिताको लागि आवश्यक सुरक्षाको व्यबस्था मजबुत पारिएको सेफ्टी डाइरेक्टर योगेश भट्टराईले बताउनु भयो । प्रतियोगिताअन्तर्गत सोलो उडान सराङकोटबाट टेकअफ गरी खपौदीमा अवतरण गराइनेछ भने टेण्डम उडान तोरीपानीबाट टेकअफ भई पामेमा ल्याण्ड गराइने व्यवस्था मिलाइएको ना का अध्यक्ष अनिल केसीले बताउनु भयो । टेण्डम उडानका लागि सामान्यतया ८ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने र यसमा फोटो, भिडियो तथा यातायात सुविधा समेत समावेश रहने बताइएको छ ।

चैत ५ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता “एक्युरेसी” विधामा हुनेछ। प्रतियोगितामा पुरुष, महिला तथा टिम इभेन्टतर्फ आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ भने करिब ३० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । यसैबीच, प्रतियोगिताको पूर्वसन्ध्यामा फेवाताल किनारस्थित खपौदी क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको थियो । स्थानीय संघसंस्था र समुदायको सहभागितामा गरिएको अभियानले वातावरण संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश दिने विश्वास गरिएको छ । यस्तो अवस्थामा पनि टेण्डम फ्लाइट सञ्चालनजस्ता प्रयासले भने पर्यटन क्षेत्रलाई केही राहत दिने अपेक्षा गरिएको छ । मध्यपूर्वमा जारी युद्धले केवल खेलकुद मात्र होइन, पर्यटन र समग्र अर्थतन्त्रमा समेत असर पारिरहेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्यास अभावजस्ता समस्याले नेपालमा आर्थिक दबाब बढाइरहेको अवस्थामा अन्तर्राष्ट्रिय प्रतियोगितामा घट्दो सहभागिताले पर्यटन क्षेत्रलाई थप चुनौती दिएको छ ।