
पोखरा ३, चैत,
पोखरामा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ जाल्पारोड क्षेत्रमा सञ्चालन भइरहेका केही खाजाघरमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा गत आइतबार साँझ करिब ४ः३० बजे बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
उक्त घटनाबाट चार जना महिलालाई उद्धार गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा भारत घर भई हाल पोखरा–१४ चाउथे बस्ने २४ वर्षीय राधेश्याम शाह र बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भई हाल पोखरा–१ बगर बस्ने २८ वर्षीय खेमु थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताउनु भयो । पक्राउ परेका दुवै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा अनुसन्धान गर्दा आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई प्रलोभनमा पारेर शोषण गरिएको तथ्य फेला परेको उहाँले जनाउनु भयो । पक्राउ परेकाहरूले महिलाहरूलाई खानबस्न सुविधा र राम्रो तलबको आश्वासन दिई होटलमा काम लगाउने, त्यसपछि होटलमा आउने पुरुष ग्राहकबाट रकम लिएर जबरजस्ती रात बिताउन बाध्य बनाउने तथा अनैतिक कार्यमा संलग्न गराउने गरेको प्रहरीले जनाएको छ । शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ ।




