प्याराग्लाइडिङ प्रतियोगिताको ल्याण्डिङ स्थल क्षेत्र फेवाताल किनार खपौदीमा सरसफाइ

-


     पोखरा क्लिक     
     चैत्र ३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ३ चैत,

पाँच वर्षपछि पोखरामा हुन लागेको २१औं खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको पूर्व अवसरमा फेवाताल किनारस्थित खपौदी क्षेत्रमा बृहत् सरसफाई गरिएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा वातावरण संरक्षणलाई प्राथमिकता दिँदै स्थानीय संघ–संस्था, क्लब, आमा समूह, सामुदायिक प्रहरी तथा विभिन्न सामाजिक अभियन्ताहरूको सहभागितामा सरसफाइ गरिएको नेपाल हवाई खेलकुद संस्था ना ले पोखराक्लिकलाई जनाएको छ ।

लामो समयदेखि प्याराग्लाइडिङ अवतरण बन्द रहेकाले उक्त क्षेत्रमा प्लास्टिकजन्य फोहोर तथा मदिराका बोतलहरू थुप्रिएको अवस्थामा भेटिएको र ती फोहोर संकलन गरी व्यवस्थापन गरिएको वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेलले बताउनु भयो । खपौदी क्षेत्रबाट करिब एक गाडी फोहोर संकलन गरिएको उहाँले जनाउनु भयो । वातावरण संरक्षणका लागि नियमित रूपमा यस्ता अभियान सञ्चालन गर्दै आएको बताउँदै उहाँले सबैलाई आफ्नो फोहोर उचित स्थानमा व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालको संरक्षण र सरसफाइमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै यसबाट स्थानीय तथा जलारी समुदायलाई अन्यको तुलनामा प्रत्यक्ष बढी लाभ पुग्ने बताउनु भयो । नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीले प्रतियोगिताको सफल आयोजनाका लागि सरसफाइ महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै लामो समयपछि पुनः प्रयोगमा आउन लागेको खपौदी क्षेत्रलाई व्यवस्थित बनाउन यस्तो पहल गरिएको बताउनु भयो ।

यही चैत ५ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित ७ देशका करिब ९० पाइलटको सहभागिता रहनेछ। प्रतियोगिता सराङकोटबाट उडान भई खपौदीमा अवतरण गर्ने “एक्युरेसी” विधामा सञ्चालन हुनेछ । यस सरसफाइ अभियानले प्रतियोगितालाई थप व्यवस्थित बनाउनुका साथै पोखरा को साहसिक पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ।



This will close in 20 seconds