
काठमाडौं ,
जिल्ला काठमाडौंको नारायणगोपाल चोकस्थित सडक खण्डमा सार्वजनिक स्थलमै पैदलयात्रीमाथि हातपात तथा दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिप चालक प्रहरी नियन्त्रणमा परेका छन्। बा ३ च ११०३ नम्बरको निजी जिप चालक, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय पारस बमलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। भिडियो सार्वजनिक भएसँगै घटना सम्बन्धमा प्रहरी र ट्राफिक प्रहरीले चासो दिँदै चालकको खोजी थालेका थिए।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको भिडियोमा चालकले सडकमा पैदलयात्रीलाई कुटपिट तथा दुर्व्यवहार गरेको देखिएको छ। उक्त घटनाले सार्वजनिक आक्रोश बढेपछि सम्बन्धित निकायले अनुसन्धान प्रक्रिया अगाडि बढाएको पोखराक्लिकलाई जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बमलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ। घटनामा संलग्न चालकविरुद्ध प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। सार्वजनिक स्थलमा हुने यस्ता गतिविधि कानुन विपरीत हुने भन्दै प्रहरीले सामाजिक सञ्जालमा देखिएका यस्ता घटनाबारे जानकारी भए तुरुन्त प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।





