क्रियापुत्री भवन बनाउन आमा समूहको सहयोग

-


     पोखरा क्लिक     
     फागुन ४ गते २०८२ मा प्रकाशित


पोखरा, ४ फागुन,

पोखरा महानगरपालिका वडा नम्बर ५, ६, ७ र १८ को संगमस्थल बासेको पधेरोमा निर्माणाधीन आवासीय क्रियापुत्री भवनका लागि आमा समूहबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको छ।

जरेवर उज्वल दिदी बहिनी समूहले भवन निर्माणका लागि ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो । समूहकी अध्यक्ष शान्ति पौडेलले क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष ठाकुरप्रसाद बराललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी छन् । आवासीय क्रियापुत्री भवन अभावका कारण विभिन्न जिल्लाबाट पोखरामा आएर व्यापार, व्यवसाय गर्दै आएका तथा स्थानीय बासिन्दाले समेत क्रियाकर्म सञ्चालन गर्न कठिनाइ भोग्दै आएका थिए । सोही समस्यालाई समाधान गर्न स्थानीयको पहलमा भवन निर्माण कार्य थालिएको हो ।

समूहकी अध्यक्ष पौडेलका अनुसार स्थापना कालदेखि देउँसी–भैलो, भजन–कीर्तन, रत्यौली लगायतका सांस्कृतिक तथा धार्मिक कार्यक्रममार्फत संकलित रकम भवन निर्माणका लागि प्रदान गरिएको हो । “सामाजिक उत्तरदायित्व अन्तर्गत दुःखको घडीमा समुदायलाई साथ दिने उद्देश्यले सहयोग गरेका हौं,” उनले भनिन् । वि.सं.२०६८ सालमा स्थापना भएको उक्त संस्थाले समाजमा रहेका विकृति–विसंगति अन्त्य गर्दै सभ्य समाज निर्माण गर्ने लक्ष्य राखेको छ। समूहले सामाजिक सेवा र विकासका विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको सचिव शान्ता सुवेदी तिमिल्सिनाले जानकारी दिइन्। दुःख–पीडाको समयमा परिवारलाई सहज रूपमा आवासीय सुविधा सहित क्रियाकर्म गर्न सकिने वातावरण तयार पार्न भवन निर्माण महत्त्वपूर्ण हुने उनको भनाइ छ।

क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष ठाकुरप्रसाद बरालले आमा समूहको सहयोगलाई महत्वपूर्ण योगदानको रूपमा लिँदै आभार व्यक्त गरे। “समुदायको साथ र सहयोगले मात्र यस्ता संरचना सम्भव हुन्छन्,” उनले भने। समितिका अनुसार स्थानीय बासिन्दा, विभिन्न सामाजिक व्यक्तित्व, संघ–संस्था तथा सहयोगी हातहरूबाट निरन्तर सहयोग जुटिरहेको छ। करिब ६० लाख रुपैयाँ लागत अनुमान गरिएको तीन तले भवन निर्माण कार्य चरणबद्ध रूपमा अघि बढिरहेको छ। भवन निर्माण सम्पन्न भएपछि क्रियाकर्मका लागि बाहिरबाट आउने तथा स्थानीय परिवारलाई सहज, मर्यादित र व्यवस्थित सुविधा उपलब्ध हुने विश्वास गरिएको छ। समुदायको सक्रिय सहभागिता र आमा समूहको सहयोगले सामाजिक एकताको उदाहरण प्रस्तुत गरेको सरोकारवालाहरूको भनाइ छ।