भारतको थन्डरबोल्टलाई पराजित गर्दै मनाङ मस्र्याङदी आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा (भिडियो), मंगलबार उज्वेकिस्तानको आबा फुटवल क्लव र प्लानिङ व्वाईज भिड्ने

-


     पोखरा क्लिक     
     फागुन ४ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ४ फागुन,

पोखरेलीको प्रिय टिम मनाङ मस्र्याङदी क्लव २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (सोमबार) भएको तेश्रोे क्वाटरफाइनल खेलमा पाहुना टोली भारत सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडलाई १—० को भिनो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा यात्रा तय गरेको हो ।

मनाङको जितमा आसिस श्रेष्ठले निर्णायक गोल गर्नु भयो । आसिसले हेड मार्फत खेलको १ सय ५ मिनेट पछिको इन्जुरी समयमा गोल गर्नु भएको हो । एन्ड्रयूको क्रस वललाई आसिसले सदुपयोग गर्नु भएको हो । ९० मिनेटको निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल १५÷१५ मिनेटको अतिरिक्त समयमा पुगेको थियो । गत बर्षदेखि आहा रारा पोखरा गोल्डकपमा सहभागिता जनाउदै आएको भारतको थण्डरबोल्ट यसपाली सिधै क्वाटरफाइनलको यात्रा पाए पनि क्वाटरफाइनलबाट माथिको यात्रा भने तय गर्न सकेन । पाएका केही अवसर सदुपयोग गर्न नसक्दा यसपाली पनि क्वाटरफाइनलबाट यात्रा छोट्याएको हो । गत बर्ष प्रि—क्वाटरफाइनलमा संकटा क्लवलाई पराजित गरी क्वाटरमा थन्डरबोल्ट ब्याक बुल्स फुटवल क्लवसंग पराजित भएको थियो । आजको खेलमा मनाङका आसिस श्रेष्ठ म्यान अफ दी म्याच घोषित हुनु भयो ।

समुह एकको मनाङले अब सहारा क्लवसंग यही फागुन ६ गते पहिलो सेमिफाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएको आयोजक सहारा क्लवका अध्यक्ष केशवबहादुर थापाले बताउनु भयो । थन्डरबोल्टका प्रशिक्षक आसिस क्षेत्रीले नेपालको चर्चीत र बलियो टिम मनाङसंग आफुहरुले उत्कृष्ट खेल प्रर्दशन गर्दा गर्दै अतिरिक्त समयमा हार्नुपरेको बताउनु भयो । आफुहरुसंगै युवा सहितको टिम भएकोले आगामी दिनमा समेत आउने उहाँले जनाउनु भयो । मनाङका प्रशिक्षक अनिल तामाङले आफुहरुले पाएका केही अवसर सदुपयोग हुन नसक्दा जित निकाल्न अतिरिक्त समयको सहायता लिनुपरेको बताउनु भयो । सहारा बिरुद्धको सेमिफाइनल खेल उत्कृष्ट प्रर्दशन गर्ने गरी तयारी गर्ने उहाँले जनाउनु भयो । मनाङ आहा रारा पोखरा गोल्ड कपमा ६ पटक उपाधि सहित सर्वाधिक सफलता हासिल गरेको टिम हो ।

हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्र्तगत सोमबारको खेल पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले रेफ्रिलाई वल हस्तान्तरण गरी शुभारम्भ गर्नु भएको हो । यसैबिच, भोलि (मंगलबार) चौथो क्वाटरफाइनल खेलमा प्लानिङ व्वाईज यूनाइटेड र उज्वेकिस्तानको आबा फुटवल क्लव बिच खेल हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । मंगलबारको बिजेता टोलीले जवलाखेल युथ क्लवसंग फागुन ७ गते दोश्रो सेमिफाइनल खेलमा भिड्ने भएको छ ।