
दिननाथ बराल,
पोखरा, ९ पुस
पोखरा महानगरपालिका वडा नम्बर २१ को कृष्ति–काफलबोटे क्षेत्र अहिले सुन्तलाले पहेँलपुर भएको छ । केही वर्षअघिसम्म मकै र कोदोसमेत राम्रो नफल्ने यो क्षेत्रमा यस वर्ष करिब १ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला फल्यो । सुन्तला खेतीले गाउँको अनुहार फेरिँदै गएपछि यहाँका किसानहरू उत्साहित देखिएका छन् ।
काफलबोटे क्षेत्रमा करिब १६ घरपरिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । तीमध्येका एक किसान इन्द्रप्रसाद सुवेदी पोखराक्लिकलाई भन्छन्, “सुन्तला खेतीले हामीलाई आत्मनिर्भर बनायो । अहिले वार्षिक रूपमा लाखौँ आम्दानी हुन थालेको छ ।” उनका अनुसार यहाँ उत्पादन भएको सुन्तला रसिलो, गुलियो र गुणस्तरीय भएकै कारण सिधै काठमाडौँसम्म माग हुने गरेको छ । निर्वाहमुखी मकै र कोदोमा सीमित किसानहरूले पोखरा महानगरपालिका, कृषि ज्ञान केन्द्रलगायत संघ–संस्थाको सहयोग पाएपछि सुन्तलातर्फ आकर्षित भएका हुन् । त्यसको नतिजा आज काफलबोटे क्षेत्रमा लटरम्मै सुन्तला फलेको रूपमा देखिन थालेको छ ।
पोखरा २१ कै कृष्ति क्षेत्रमा सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने किसानका रूपमा प्रकाश पौडेल चिनिन्छन् । उनको बगैचामा पुराना र नयाँ गरी हाल ७ सयभन्दा बढी सुन्तलाका बोट छन् । अधिकांश बोटबाट उत्पादन लिन थालिसकिएको छ । यस वर्ष मात्रै उनले करिब ११ लाख रुपैयाँको सुन्तला बिक्री गरे । तर बादरको समस्या, सिट्रस ग्रिनिङजस्ता रोग र असिनाले सुन्तला जोगाउनु ठूलो चुनौती रहेको उनले पोखराक्लिकलाई बताए । त्यस्तै स्थानीय लक्ष्मीपति सुवेदीका २२० वटा सुन्तलाका बोट छन् । तीमध्ये १ सय २० वटा नयाँ बिरुवा हुन् भने बाँकी १०–१२ वर्ष पुराना बोटबाट उत्पादन भइरहेको छ । अर्का किसान गणेश पराजुले १ सय ५० वटा बोटबाट यस वर्ष करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको सुन्तला उत्पादन गरेका छन् ।
पोखरा महानगरपालिकाले विगत केही वर्षयता सुन्तलामा देखिएको रोग नियन्त्रण र संरक्षणका लागि कृष्ति क्षेत्रलाई प्राथमिकतामा राख्दै विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया भन्छन्, “४–५ वर्षसम्म निरन्तर अभियान सञ्चालन गर्दै करिब १ करोड रुपैयाँभन्दा बढी अनुदान यही क्षेत्रमा लगानी गरियो । आज त्यसको प्रतिफल बोटै नधान्ने गरी फलेको सुन्तलामा देखिन्छ ।” उनका अनुसार पोखरा महानगर क्षेत्रमा वार्षिक करिब १० करोड रुपैयाँ बराबरको सुन्तलाको कारोबार हुँदै आएको छ । कागतीसहित सुन्तला उत्पादन करिब ४ हजार मेट्रिक टन पुग्ने उनको दाबी छ । स्थानीयहरूका अनुसार कृष्ति क्षेत्रमा आजभन्दा करिब ८० वर्षअघि तीर्थराज सुवेदीले व्यावसायिक रूपमा सुन्तला खेतीको सुरुवात गरेका थिए । त्यही परम्परा अहिले आधुनिक प्रविधि र सरकारी सहयोगसँगै पुनः फस्टाउँदै गएको छ ।
यसैबीच, सुन्तलाको प्रवर्द्धन र बजार विस्तारका लागि पुष १० गते कृष्तिमा पहिलोपटक सुन्तला महोत्सव आयोजना हुँदैछ । पोखरा २१ का वडा अध्यक्ष दीपकप्रसाद सुवेदीका अनुसार महोत्सवले स्थानीय उत्पादनको पहिचान थप बलियो बनाउनेछ । मंगलबार वडा अध्यक्ष सुवेदीको अध्यक्षतामा बसेको छलफलमा स्थानीय बासिन्दा, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरूले गाउँमै पहिलोपटक हुन लागेको सुन्तला महोत्सवलाई भव्य बनाउन सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सुन्तलाले गाउँमा ल्याएको समृद्धिको उत्सव मनाउन कृष्ति अहिले तयारीमा जुटेको छ ।






