
पोखरा, २७ साउन,
अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा पोखरा महानगरपालिका–२२ वडा युवा परिषदको आयोजनामा मङ्गलबार “लागूऔषध तथा मदिरा दुरुपयोग नियन्त्रण र व्यक्तिगत सरसफाइ” विषयक विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम पोखरा–२२, भुम्दीस्थित श्री ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो, जहाँ कक्षा ७, ८, ९ र १० का गरी करिब ६० जना विद्यार्थी तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

वडा युवा परिषद–२२ का अध्यक्ष दिनेश बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा–२२ का वडा अध्यक्ष हिमलाल बराल, विशेष अतिथि वडा सदस्य कृष्णकुमारी देवकोटा, नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकाजी गुरुङ, सामाजिक अभियन्ता तथा प्रशिक्षक विकास पहारी, परिषद् सदस्य सुदिप बिक लगायतको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष बरालले युवाहरूलाई लागूऔषध र मदिरा जस्ता कुलतबाट टाढा रहँदै स्वस्थ जीवनशैली अपनाउन आह्वान गर्नुभयो। उहाँले यस्ता सचेतनामूलक कार्यक्रमहरूले समाजलाई सकारात्मक दिशामा अघि बढाउन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। विशेष अतिथि कृष्णकुमारी देवकोटाले युवाहरूले आफ्नो क्षमता र ऊर्जा समाजिक रूपान्तरणमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।
प्रशिक्षण सत्रमा नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले “लागूऔषध दुरुपयोगका जोखिम र निवारण”, प्रशिक्षक विकास पहारीले “मदिराको स्वास्थ्य तथा सामाजिक असर” र प्रसन्न बरालले “व्यक्तिगत सरसफाइको महत्त्व” विषयमा प्रस्तुति दिनुभयो। सहभागीहरूलाई प्रश्न–उत्तर तथा अन्तर्क्रियामार्फत प्रत्यक्ष संलग्न गराइएको थियो।
समापन सत्रमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफ्नो विद्यालयमा यस्तो उपयोगी कार्यक्रम आयोजना गर्न पाउँदा खुशी व्यक्त गर्दै वडा युवा परिषद–२२ प्रति धन्यवाद ज्ञापन गर्नुभयो। वडा युवा परिषद–२२ ले आगामी दिनमा पनि युवाको नेतृत्व विकास, स्वास्थ्य र सामाजिक सचेतना वृद्धि गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रसन्न बरालले बताउनु भयो ।




