चीनमा पूर्ण छात्रवृत्तिमा पीएचडी अध्ययन गर्न एनटीबी गण्डकीका प्रमुख मणिराज लामिछाने छनौट

-


     पोखरा क्लिक     
     भाद्र १६ गते २०८३ मा प्रकाशित


पोखरा,

नेपाल पर्यटन बोर्ड (एनटीबी) गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने चीनको प्रतिष्ठित झेजियाङ विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा विद्यावारिधि (पीएचडी) अध्ययनका लागि छनोट हुनुभएको छ। चीनको हाङजाउस्थित झेजियाङ विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ ग्लोबल डेभलपमेन्टले सन् २०२६ सेप्टेम्बरदेखि सञ्चालन गर्न लागेको ३ वर्ष ६ महिना अवधिको विशेष पीएचडी कार्यक्रममा विश्वभरबाट छनोट भएका १५ जनाभित्र पर्न उहाँ सफल हुनुभएको हो।

नेपाल पर्यटन बोर्डलाई चिनियाँ दूतावास मार्फत प्राप्त मनोनयन कोटा र तोकिएका कडा मापदण्ड पार गर्दै लामिछाने अन्तराष्ट्रिय सम्बन्ध र विश्वव्यापी शासन विषयमा विद्यावारिधि अध्ययनका लागि छनोट हुनुभएको हो। पहिलो वर्ष करिब १० महिना चीनमै बसेर अध्ययन तथा कोर्सवर्क पूरा गरेपछि उहाँ नेपाल फर्केर अनुसन्धान र स्थलगत कार्यलाई निरन्तरता दिनुहुनेछ। पर्यटन, अन्तर्राष्ट्रिय सम्बन्ध, दिगो विकास तथा विश्वव्यापी सुशासनसँग सम्बन्धित उहाँको उच्च अध्ययनले नेपालको पर्यटन नीति र विकास सुशासनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

लामिछाने पोखरामा एनटीबी गण्डकी प्रदेश कार्यालयको नेतृत्व सम्हालेको करिब २० महिनाको अवधिमा पर्यटन प्रवर्द्धनका क्षेत्रमा केही नयाँ र उल्लेखनीय कार्यक्रम सञ्चालन गरिएको दाबी गर्नुहुन्छ। गण्डकी प्रदेशको पर्यटन राजधानी पोखराले नयाँ कार्यक्रम मार्फत अन्य पर्यटकीय गन्तव्यलाई पनि सिक्ने र नयाँ अभ्यास सुरु गर्न प्रेरित गर्नुपर्ने उहाँको धारणा छ। उहाँको कार्यकालमा पोखरालाई ‘इभेन्ट नै इभेन्टको सहर’का रूपमा स्थापित गर्दै निरन्तर पर्यटकीय गतिविधि सञ्चालन गर्न प्रोत्साहन गरिएको उहाँको तर्क छ ।

सोही अवधिमा तनहुँको बन्दीपुरमा २९ वटा ग्रामीण पर्यटकीय गाउँ गन्तव्य समेटेर प्रदेशस्तरीय चौथो गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरियो। यो मार्ट पहिलो पटक पोखरा बाहिर आयोजना गरिएको थियो। बन्दीपुर ग्रामीण पर्यटन प्रवर्द्धनका लागि काठमाडौँ र पोखराका २० जना पर्यटन पत्रकार तथा व्यवसायीलाई परिचयात्मक भ्रमणसमेत गराइएको थियो। त्यस्तै, बन्दीपुरका पर्यटकीय उपजलाई काठमाडौँका व्यवसायी तथा उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले पहिलो पटक ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रम आयोजना गरिएको थियो। पोखरा सडक महोत्सवका अवसरमा स्थानीय कला, अल्लो, हेम्प र प्राकृतिक रेशाबाट बनेका उत्पादनको प्रवर्द्धनका लागि ‘ह्यान्डिक्राफ्ट एन्ड गार्मेन्ट मार्ट २०८२’ आयोजना गरिएको थियो, जसमा गण्डकी र आसपासका सात जिल्लाको सहभागिता रहेको थियो।

पाँच वर्षदेखि रोकिएको २१औँ नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप–एक्युरेसी मा स्वदेशी तथा विदेशी गरी ९० खेलाडी सहभागी गराई कार्यक्रम सञ्चालनमा साझेदारी गरिएको थियो। यसैगरी, बेगनास क्षेत्रका पर्यटन व्यवसायीलाई समेटेर ‘जाऊँ है बेगनास पोखरा’ अभियान पश्चिमका विभिन्न सहरमा तथा ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान विभिन्न पर्यटकीय सहरमा सञ्चालनमा सहकार्य गरिएको थियो।
यसअघि २०८१र८२ मा ऐतिहासिक छेन्दु–पोखरा सीधा व्यावसायिक चार्टर उडान सञ्चालनका लागि पनि उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

पर्यटन क्षेत्रमा लामो अनुभव भएका लामिछानेले सन् १९९८ मा निजी क्षेत्रका टुर, ट्राभल तथा हस्पिटालिटी संस्थाबाट करियर सुरु गर्नुभएको थियो। निजी क्षेत्रमा करिब १० वर्षको अनुभवपछि उहाँ सन् २००८ देखि नेपाल पर्यटन बोर्डमा आबद्ध हुनुभएको हो। उहाँले एमबीएस, पर्यटन व्यवस्थापनमा स्नातकोत्तर तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ। झेजियाङ विश्वविद्यालयको पीएचडी अध्ययनका लागि उहाँको छनोटलाई नेपालको पर्यटन क्षेत्रमा सक्रिय व्यक्तिको अन्तर्राष्ट्रिय शैक्षिक उपलब्धिका रूपमा हेरिएको छ।

उहाँको अनुपस्थितीमा पोखराको कार्यालयको प्रमु्ख जिम्मेवार अब कसले सम्हाल्ने पर्यटन व्यवजसायीको जिज्ञासाको बिषय भएको छ । यसपाली नयाँ सरकारले ल्याएको बजेट अबका केही दिनमा आउने कार्यालयले जनाएको छ । २०६५ साउन १० गते काठमाण्डौं वोर्डको कार्यालयमा प्रबन्धको भूमिकामाबाट सरकारी कर्मचारीको भूमिकामा रहनु भएको लामिछाने करिब एक दशक अघि नीजि क्षेत्रमा काम गरेको अनुभव समेत सम्हाल्नु भएको छ ।