नेपाल आमा रोइरहेका बेला नागरिक समाज कास्कीको साथः सदस्यहरूबाट ५१ हजार सहयोग

-


     पोखरा क्लिक     
     भाद्र १६ गते २०८३ मा प्रकाशित


पोखरा,

प्राकृतिक विपत्तिले देशका विभिन्न ठाउँमा जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको दुःखमा साथ दिन नागरिक समाज कास्कीका सदस्यहरूले ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। विपद्को यस दुःखद् घडीमा राज्य र पीडित नागरिकलाई आफूहरूको तर्फबाट समेत केही साथ होस् भन्ने उद्देश्यले नागरिक समाज कास्कीका सदस्यहरूले आफ्नो हैसियत अनुसार रकम संकलन गरी सहयोग गरेको नागरिक समाज कास्कीका अगुवा तथा सामाजिक अभियन्ता रामबहादुर पौडेलले पोखराक्लिकलाई बताए।

विपद्का बेला प्रत्येक नागरिकले आफ्नो क्षमता र हैसियतअनुसार योगदान गर्न सक्छ भन्ने सन्देश दिन रकम सार्वजनिक गरिएको उहाँले जनाउनु भयो । “नेपाल आमा रोइरहेको बेला हामी पनि आफ्नो ठाउँबाट केही साथ दिनुपर्छ भन्ने महसुस भयो। रकम ठूलो होइन, तर विपद्मा सानो सहयोगले पनि ठूलो अर्थ राख्छ,’’ पौडेलले भने, “अरू स्वयंसेवी मनहरूलाई पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यले हामीले थोरै भए पनि रकम उल्लेख गरेका हौँ।”

नागरिक समाजका अगुवा पौडेल पोखरा तथा गण्डकी क्षेत्रमा नागरिक अधिकार, सुशासन, बजार अनुगमन तथा सामाजिक उत्तरदायित्वका सवालमा निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ताका रूपमा परिचित छन्। “आज कसैको घरमा परेको दुःख भोलि हाम्रो घरमा पनि पर्न सक्छ। त्यसैले पीडितको दुःखलाई आफ्नो दुःख सम्झेर सकेको सहयोग गर्नु नै मानवीयता हो,” उनले भने।