विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा २ लाख नगदसहित राहत सहयोग

-


     पोखरा क्लिक     
     भाद्र १७ गते २०८३ मा प्रकाशित


पोखरा,

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले विपद् तथा दुःखमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत सामग्री प्रदान गरेको छ। समितिले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत् २ लाख रुपैयाँ नगद र २ सय ४५ थान वस्त्र राहत स्वरूप सहयोग गरेको हो। समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठसहित पदाधिकारीले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई नगद तथा कपडा हस्तान्तरण गरेका हुन्।

राहत हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले मन्दिर भक्तजनले भेटी तथा दक्षिणा चढाउने ठाउँ मात्र नभई सामाजिक सेवाको केन्द्रसमेत बन्नुपर्ने बताए। दुःख र विपद्मा परेका नागरिकलाई सहयोग गर्नु धार्मिक संस्थाको सामाजिक दायित्व भएको उनको भनाइ छ। ‘मन्दिर केवल दक्षिणा अर्पण गर्ने ठाउँ मात्र होइन, दुःखमा मलम लगाउने माध्यम बन्नुपर्छ,’ श्रेष्ठले भने। उनले भक्तजनबाट प्राप्त भेटीलाई सामाजिक हितमा समर्पित गर्ने समितिको लक्ष्य रहेको बताए । धार्मिक आस्था र सामाजिक सेवाबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै आवश्यकतामा परेका नागरिकलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिने उनको भनाइ छ।